अपडेट

पिली भ्यु टावरमा निःशुल्क वाइफाइ, पर्यटकलाई सहजता

कालिकोट — खाँडाचक्र नगरपालिका–७, पिलीमा रहेको भ्यु टावरमा निःशुल्क वाइफाइ सेवा सुरु गरिएको छ। महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन)को पहलमा एभेष्ट वायरलेस  नेटवर्कको सहयोगमा झन्डै ३ सय एमबिपिएस क्षमताको वाइफाइ सेवा जडान गरिएको हो।

अध्यक्ष सिंहका अनुसार पिली जनयुद्धको अन्तिम युद्धस्थलको रूपमा चिनिएको ऐतिहासिक स्थान हो। यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा ध्यान दिइँदैछ। पिलीमा आउने पर्यटकलाई सहज होस् भनेर वाइफाइ जडान गरिएको र आगामी दिनमा थप पर्यटकीय प्रवर्द्धनका कार्यक्रमहरू पनि अघि बढाइने उनले बताए।

यस्तै, खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमल बहादुर शाहीले पिलीलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए। नगरपालिकाले यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहेको पनि उनले स्पष्ट पारे।

एभेष्ट वायरलेस नेटवर्क प्रा.लि.का सिईयो धर्मराज खड्का, जिल्ला शाखा प्रमुख लोकेन्द्र बहादुर शाही र टेक्निसियन नवराज विष्टको समूहले वाइफाइ जडानको कार्य सम्पन्न गरेका हुन्।

तपाईको प्रतिक्रिया