कालीकोट — जिल्ला प्रशासन कार्यालय कालीकोटले फुकोट सबस्टेशन निर्माणस्थलमा खेती नगर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत आयोजनाअन्तर्गत निर्माण हुँदै गरेको ४०० के.भी. डबल सर्किट प्रसारण लाइनको सबस्टेशन स्थापनाका लागि खाँडाचक्र नगरपालिका–११, रेगिलको केही जग्गा सरकारद्वारा पहिले नै अधिकरण गरिएको थियो। तर हाल त्यही जग्गामा स्थानीयले फेरि खेती गर्न थालेपछि प्रशासनले यस्तो परिपत्र जारी गरेको हो।
जिल्ला मुआब्जा निर्धारण समितिको असार २६ गतेको निर्णयअनुसार, भदौ १५ भित्र सबस्टेशन क्षेत्र खाली गर्न सूचनामा भनिएको छ। उक्त क्षेत्रमा प्रसारण लाइनको सबस्टेशन र अन्य संरचना निर्माण गर्नुपर्ने भएकाले घर टहरा खाली गर्न समेत अनुरोध गरिएको छ।
विद्युत उत्पादन कम्पनीले हालसम्म आवश्यक क्षतिपूर्ति वितरण गरिसकेको जनाउँदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सरकारले एकपटक फेरी धान रोपिएको सूचना पाएपछि कात्तिकसम्मको समय छुट दिएको जानकारी दिनुभयो। “अब फेरि खेती गरेमा बीउ खेर जाने भएकाले सूचना जारी गरिएको हो,” प्रजिअ भट्टराईले भन्नुभयो।
प्रशासनले चेतावनी दिँदै भनेको छ— निर्धारित म्यादसम्म क्षेत्र खाली नगरे कानुनअनुसार कारबाही गरिनेछ।
विद्युत उत्पादनका लागि चारपटक बाली फल्ने उब्जाउ रेगिल क्षेत्रको जग्गा दिन स्थानीयलाई झण्डै दुई वर्ष लागेको थियो। सबस्टेशन क्षेत्र खाली गरी संरचना निर्माणका लागि वातावरण तयार पार्न प्रशासनको आग्रह गरिएको हो।

दियो खबर । १५ श्रावण २०८२, बिहीबार १०:३७