सुर्खेत । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा बोलेपछि राष्ट्रिय युवा संघ नेपालले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई एक वर्षका लागि निलम्बन गरेको छ । साउन ९ गते बसेको संघको पदाधिकारी बैठकले खरेललाई संगठनका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गर्दै निलम्बन गर्ने निर्णय गरेको हो ।
संघले खरेलमाथि पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका क्रममा अध्यक्षमण्डलका सदस्यहरूमाथि अशिष्ट व्यवहार गरेको, प्रतिनिधिहरूलाई धम्क्याएको, केन्द्रको निर्देशन अवज्ञा गरेको र सामाजिक सञ्जालमा पार्टी नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाएको आरोप लगाएको छ ।
तीन दिनभित्र भौतिक रूपमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकोमा खरेलले इमेलमार्फत तीन पेज लामो जवाफ पठाउँदै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका थिए । उनले अध्यक्ष सुमन पुरीको पक्षमा उभिनु आपराधिक नभएको र पार्टीभित्र नेतृत्व परिवर्तनको बहस लोकतान्त्रिक अभ्यास भएको तर्क गरेका छन् ।
‘पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वको विकल्प खोज्नु अपराध होइन,’ खरेलले भनेका छन्, ‘निलम्बनको निर्णय अन्यायपूर्ण र पूर्वाग्रही छ । आवश्यक परे समानान्तर कमिटीसमेत बन्न सक्छ ।’
सुरज खरेल देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् ।

दियो खबर । १० श्रावण २०८२, शनिबार ०९:५८