अपडेट

एनआरएनए क्युस्यु संयोजकमा भट्ट र पाठक आमनेसामनेको मार्ला बाजी

टोकियो / गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अन्तर्गत क्षेत्रीय समन्वय परिषद् क्युस्युको आगामी संयोजक चयनका लागि अमृत भट्ट र कृष्ण हरी पाठकबीच प्रतिष्पर्धा हुने भएको छ।

हाल कार्यरत उपसंयोजक रहेका दुवै उम्मेदवारले संयोजक पदमा आफ्नो दाबी गर्दै उम्मेदवारी दर्ता गराएका हुन्।

सन् २०१५ मा जापान आएका भट्ट र २०१७ मा जापान आएका पाठक दुवै विद्यार्थी भिसामा फुकुओका पुगेका थिए। हाल दुवैजना जापानका प्रतिष्ठित कम्पनीहरूमा स्थायी रुपमा कार्यरत छन्।

भट्ट एनआरएनए क्युस्युमा सदस्यबाट सुरु गर्दै उपसंयोजकसम्मको यात्रा तय गर्दै संयोजकको दौडमा उत्रिएका हुन्। पाठक पनि सदस्य, सचिव हुँदै उपसंयोजक भएर अहिले संयोजक पदको प्रत्यासी बनेका छन्।

आगामी जुलाई २७ तारिखमा हुने चुनावका लागि दुवै उम्मेदवार सामाजिक सञ्जालमार्फत आ–आफ्ना एजेण्डा र योजनाहरू सार्वजनिक गर्दै प्रचारमा जुटिरहेका छन्।

एनआरएनए क्युस्यु क्षेत्रमा करिब २१०० मतदाता रहेका छन्, जसले अनलाइन प्रणालीमार्फत मतदान गर्नेछन्।

अब संयोजक कसले मार्ला बाजी भन्ने उत्सुकता एनआरएनए क्युस्युमा चुलिएको छ।

तपाईको प्रतिक्रिया