टोकियो– नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाही जापान भ्रमणका लागि आउन लागेका छन्। कर्णाली प्रदेश समाज जापानको विशेष आमन्त्रणमा नेता शाही आज बिहान ८ बजे जापान आइपुग्ने कार्यक्रम तय भएको हो।
कर्णाली प्रदेश समाज जापानले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार शाहीको भ्रमणका क्रममा जापानमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूसँग विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिनेछ। कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न सम्पर्क समिति, स्थानीय समाजका प्रतिनिधि, र विशेषगरी कर्णाली क्षेत्रका प्रवासी नेपालीहरूसँग भेटघाट हुने बताइएको छ।
दियो खबरसँग कुराकानी गर्दै नेता शाहीले भने, “विदेशमा बसेर पनि नेपालको विकास र कर्णालीको पहिचानलाई बचाइरहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूसँग प्रत्यक्ष भेट र संवाद गर्ने अवसर पाउँदा म निकै उत्साहित छु। यो भेटघाटले हाम्रो भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउनेछ।”
जापान भ्रमणलाई उनले कर्णाली र प्रवासी नेपाली समुदायबीच सेतुको रूपमा लिने बताएका छन्। साथै, कर्णालीको समृद्धि र युवाको सहभागितालाई अझ सशक्त बनाउन प्रवासी नेपालीहरूको साथ र सहकार्य आवश्यक रहेको उनले जोड दिए।
नेता शाहीको जापान आगमनले यहाँको नेपाली समुदाय, विशेषगरी कर्णालीबाट जापानमा बसोबास गरिरहेका नागरिकहरूमा नयाँ उत्साह र ऊर्जा ल्याउने विश्वास गरिएको छ।

दियो खबर । २ श्रावण २०८२, शुक्रबार २२:५३