टोकियो —जापानको राजधानी टोकियोमा एक नेपाली नागरिकलाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ। थापा थरका ३० वर्षभन्दा कम उमेरका ती व्यक्तिलाई टोकियोको आराकावा वार्डस्थित एक सार्वजनिक शौचालयमा महिला प्रतिको अभद्र व्यवहारको आरोपमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, घटनामा संलग्न नेपाली युवकले पीडित २० वर्षीया जापानी महिलासँग टोकियोको एक रेस्टुरेन्टमा भेटघाट गरेका थिए। त्यसपछि उनले महिलालाई पार्कमा सँगै मदिरा पिउन आग्रह गरेका थिए। घटनाको रात उनले महिलालाई एक्कासि काँधमा बोकेर नजिकैको सार्वजनिक शौचालयभित्र लगेका थिए।
पीडित महिलाले प्रहरीसमक्ष दिएको बयानमा शारीरिक सम्पर्कमा जबरजस्ती गरिएको बताएकी छन्। प्रहरीका अनुसार थापाले शौचालयभित्र शरीर छोएको स्वीकार गरे पनि यौन दुर्व्यवहारको आरोप भने अस्वीकार गरेका छन्।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको टोकियो मेट्रोपोलिटन प्रहरीले जनाएको छ। यस घटनाले जापानमा रहेका नेपाली समुदायमा चिन्ता र चासो पैदा गराएको छ।

दियो खबर । १ श्रावण २०८२, बिहीबार २२:०५