पत्रकार मान बहादुर विश्वकर्मा ।हुन त म कुनै ठूलो व्यक्ति तथा नेपाली पत्रकारिता क्षेत्रलाई मूल्याङ्कन गर्ने औकात राख्ने व्यक्ति होइन । तर पनि यसभित्रका धेरै रहस्यहरुलाई नजिकबाट नियालेको र अनुभव गरेको हुनाले केहि लेख्ने प्रयास गरेको छु ।
आम जनतासामु समाजका विकृति-विसंगतिहरुलाई जानकार गराउने क्षेत्र भित्र पनि धेरै विकृति-विसंगतिहरु छन् । जुन आम जनतासामु पुग्दैन वा पुर्याउने गरिँदैन । पछिल्ला केहि घटनाहरुले वा समय समयमा देखिने मिडियाको ढुलमुलपनले मिडिया कति निष्पक्ष छ वा छैन भन्ने कुराको पुष्टि गर्दछ । तर, आज यो आलेखमा भने मिडिया निष्पक्ष छ वा छैन भन्ने भन्दा पनि यसभित्र काम गर्ने व्यक्तिहरु चाहिँ कस्ता छन् र हुन्छन् भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।
के पत्रकारहरु स्वतन्त्र छन् ? समाचारमा उनीहरु आफ्नो भाव स्वतन्त्ररुपमा बोल्न सक्छन् कि मालिक वा दलको क्यामेरा बोल्छ भन्ने मुद्दा महत्वपूर्ण छ । यहाँ अहिले दुई खाले पत्रकार छन् । एक चाकरीबाज र अर्को इमान्दार पत्रकार । चाकरीबाजहरुको हालीमुहाली बढी हुन्छ भने केहि अपवाद बाहेक इमान्दार पत्रकारहरु धेरै एउटै संस्थामा टिक्न सक्दैनन् ।
मात्र उच्च पद र मिडिया मालिकको हरेक प्रस्तावलाई कसरी स्वीकार गर्ने भन्ने सिकेका व्यक्तिहरुको हाली-मुहाली अहिले नेपाली मिडियामा देख्न सकिन्छ । आफूले गरेको सहि काम पनि उसको बिना कामको अवजेक्सनलाई हजुर सर, भैहाल्छ नि, भन्नुस् न, अहिले नै हुन्छ, हुन्छ नि, हजुर भन्नुस् मात्र म गरिहाल्छु नि भन्नेहरु नै अहिले मिडिया जगतमा बिकिरहेका छन् । यदि तपाईंले यस्तै चाकारी गर्न सके मात्र त्यो मिडियामा तपाईंको जागीर स्थायी हुने । पत्रकारिताका सिद्धान्त, उद्देश्य र कार्यहरू चाकारीमा बदलेको खण्डमा मात्र तपाईं टिक्न सक्नुहुन्छ नत्र टिक्न धेरै गाह्रो छ ।
दिनभरि कागज समातेर कागजको पाना भर्न तिर लागेका ती इमान्दार पत्रकार जसलाई एक कप चिया खान फुर्सद छैन । तर ती चाकरीबाजहरुलाई भिआइपी रेष्टुरेन्टमा पार्टी खान फुर्सद हुँदैन । इमान्दारिताका साथ पत्रकारिता गरेकाहरुलाई घरको कथा त परै जाओस्, समयको कुनै मतलब हुँदैन । समाचार–समाचार भन्दा भन्दै दौडिरहेका हुन्छन उनीहरु । अनि ती चाकारीबाजहरु चाहिँ हामी यो देशका पत्रकार हौँ भन्दै दौडिरहन्छन् । चार कप चिया सकिसक्दा समेत एउटा सम्पादकीय लेख्न नसक्ने सम्पादक समेत यहाँ अहिले चोकचोकमा भेटिन्छन् । अब आफै मुल्याङ्कन गर्नुस् त यस भित्रका पात्रहरुलाई ।
कामप्रतिको इमान्दारिता कसैलाई मन पर्दैन । जो आफ्नो मिडिया र कामप्रति ईमान्दार छन् उनीहरू निराश छन् । ती थाकेका छन् । गलेका छन् । आक्रोशित छन् । मिडियाको यस्तो अवस्था देखेर उकुसमुकुस भएका छन् । उपायको खोजीमा पनि छन् । तर, ती झ्याप्पै कतै हिँडिहाल्न सक्ने अवस्थामा पनि छैनन् । किनभने ती ईमान्दार व्यक्तिले आफ्नो पेशालाई न्याय गरेका छन् । कति पत्रकारले त स्वतन्त्र पत्रकारिता गर्दागर्दै जीवनकै बलिदान समेत दिए ।
अध्ययनशील, लगनशील र निडर भए मात्र पत्रकार बन्न सकिन्छ । तर यहाँ त ठीक त्यसको उल्टो छ । तपाईं जत्ति सक्नुहुन्छ, डराउनुस् । कराउनुस् र चाकरी गर्नुस् मात्र मालिकको । अनि असल पत्रकार बन्नु हुन्छ । यतिसम्म कि सकभर एक एजेन्ट बन्नुस्, आफ्नै मिडिया हाउस भित्रका महिला पत्रकारहरूलाई मालिकको कोठासम्म पुर्याउने । रातिराति म्यासेज पठाउनुस् ति महिला पत्रकारलाई । पद र सुविधाको प्रलोभन देखाउनुस् । अनि ठूलै पत्रकार हुँ भन्दै बजारमा शीर ठाडो पारेर हिँड्नुस् ।
यस्तै पात्रहरु कै कारण हो, आज–भोलि पत्रकारको मूल्य बजारमा बेच्न राखेको सब्जीभन्दा पनि सस्तो भएको । यहाँ दुई–चार पिस मासु र भोड्कासँग कयौँ समाचार लुक्ने गर्छन् । गलतलाई लुकाएर चाकरी गरी पत्रकारिता गर्ने पात्र धेरै छन् यहाँ । त्यसको ठीक विपरित थर्काएर, ब्ल्याकमेल गरेर वा धम्की दिएर आफ्नो फाइदा लुट्नेहरुको भिड पनि छ यो भित्र ।
एक चोटि डराउनुस् आफ्नो समाचारसँग, ताकि त्यो तपाईंको समाचारले भोलि नेपाली मिडियाको भविष्य कहाँ पुर्याउला भनेर । पत्रकारको मूल्य त त्यतिखेर हुन्छ, जब कसैले तपाईं के गर्नुहुन्छ भनेर सोध्यो भने छाती फुलाएर भन्न सक्नुस्, पत्रकार हुँ म । मेरो कारण नेपाली समाज यति सकारात्मक रुपान्तरण हुन सकोस् । त्यसैले नेपाली पत्रकारीता भित्रका पात्रहरुले आफू मह ओसार्ने माहुरी हुँ कि सरुवा रोग भित्र्याउने झिँगा हुँ भन्ने हेक्का राख्नु आवस्यक छ ।आजको यो आलेखको उद्देश्य कोही पनि स्वतन्त्र, इमान्दार तथा निश्पक्ष पत्रकारको चित्त दुखाउनु हैन । तर अरुको विकृति-विसंगतिमाथी प्रश्न उठाउने राज्यको चौँथो अङ्गले आफुभित्रको विकृति विसंगतिलाई पनि नियाल्नु आवस्यक छ । अब यस पछिको पत्रकारीता स्वतन्त्र र निष्पक्ष मा आधारि नभई अरुको भरमा कलम चलाउने यो नेपाली पत्रकारिता लाई जरै देखि उखेल्न जरुर ठान्दछु ।
मान बहादुर बिश्वकर्मा हाल त्रिवेणी खबर डटकम कालिकोटका संचालक अध्यक्ष
दियो खबर । १० पुष २०७७, शुक्रबार २०:४७