अपडेट

तिलागुफामा सुधारिएको चुलो वितरण ४०७ घरधुरी लाभान्वित

कालिकोट — तिलागुफा नगरपालिका वडा नम्बर १ मा सुधारिएको चुलो वितरण गरिएको छ। ‘एक घर एक चुलो’ कार्यक्रमअन्तर्गत वडा नं. १ का ४०७ घरधुरीलाई सुधारिएको चुलो वितरण गरिएको हो।

तिलागुफा नगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा सञ्चालन भएको कार्यक्रमबाट नगरपालिकाका सबै वडाका घरपरिवारलाई लक्षित गरिएको छ। अब केही समयभित्र वडा नं. ६, ७ र ८ मा पनि चुलो वितरण गरिने नगरपालिकाले जनाएको छ।नगर प्रमुख शंकर उपाध्यायले सुधारिएको चुलो वितरणले स्वच्छ वातावरण निर्माण, इन्धनको खपतमा कमी र महिलाको स्वास्थ्यमा सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले भने, “धुवाँरहित चुलोले खासगरी महिलाको स्वास्थ्यमा सकारात्मक असर पार्नेछ। यसले वातावरणमैत्री जीवनशैली विकासमा टेवा पुग्नेछ।”

त्यस्तै, नगर उप–प्रमुख महेन्द्र बहादुर शाहीले दियो खबरसँग भने, “हामीले ऊर्जा–सुरक्षित र स्वच्छ समाज निर्माणको लक्ष्यसहित यो अभियान अघि बढाएका हौं। सबै वडामा वितरण सम्पन्न गरेपछि यसको प्रभाव अझ स्पष्ट रूपमा देखिनेछ।”

तपाईको प्रतिक्रिया