कालिकोट —तिलागुफा नगरपालिका–१ अन्तर्गत मेहेल्सेरा खोपि बस्तीमा आजदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ।
बर्सौँदेखि सौर्य उर्जामा निर्भर रहँदै आएका स्थानीय बासिन्दाहरूले अब स्थायी रूपमा भरपर्दो राष्ट्रिय विद्युत् सेवा पाउने भएका छन्। करिब १२० घरधुरी लाभान्वित हुनेगरी विद्युत् सेवा विस्तार गरिएको हो।
उद्घाटन कार्यक्रम तिलागुफा नगरपालिकाका नगर उपप्रमुख महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली, उपभोक्ता समूह तथा बस्तीका बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दियो खबरसँग कुरा गर्दै नगर उपप्रमुख शाहीले भने “हामीले जनताको आधारभूत सेवा सुनिश्चित गर्न निरन्तर प्रयास गरिरहेका छौं। अब गाउँ उज्यालोमा रमाउनेछ। केवल विद्युत् मात्रै होइन, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा समेत सन्तुलित विकास गरिनेछ।”
विद्युत् विस्तार कार्य जिल्ला विद्युत् कार्यालय र ऊर्जा तथा खानेपानी कार्यालयको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। स्थानीय युवाहरूको सक्रिय सहभागिताले पनि काम सहज र प्रभावकारी बनेको जनाइएको छ।
स्थानीय बासिन्दाहरूले यसलाई विकासतर्फको ऐतिहासिक पाइला भन्दै खुसी व्यक्त गरेका छन्। अब नियमित विद्युत् आपूर्तिसँगै यहाँका बासिन्दाले विभिन्न सेवा तथा प्रविधिको सहज उपयोग गर्न सक्ने आशा गरिएको छ।
दियो खबर । २१ असार २०८२, शनिबार २१:१६