टोकियो — जापानको कुमामोतो प्रान्तस्थित कुमामोतो प्राविधिक तालिम विद्यालय (Kumamoto Kogyo Training School) को सवारी साधन मर्मतसम्बन्धी इन्जिनियरिङ विभाग (Automobile Maintenance Engineering Department) मा अध्ययनरत नेपाली छात्रा अम्बिका थापाको निधन भएको छ।
धनकुटा स्थायी घर भई जापानमा अध्ययनका लागि आएकी अम्बिका थापा २०२५ जुन ३० तारिखका दिन दुर्भाग्यपूर्ण रूपमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको वास्तविक कारण पत्ता लगाउन शव परीक्षण (पोस्टमार्टम) प्रक्रिया अगाडि बढाइएको छ। हाल घटनासम्बन्धी प्रारम्भिक अनुसन्धान जारी रहेको स्थानीय जापानी प्रहरी स्रोतहरूले जानकारी दिएका छन्।
केही समयदेखि कुमामोतोस्थित उक्त प्राविधिक संस्थामा अध्ययनरत थापा अध्ययनमा रुचि राख्ने, सरल स्वभावकी र सबैसँग मिलनसार व्यवहार गर्ने छात्रा थिइन्। उनको असामयिक निधनले जापानस्थित नेपाली समुदाय स्तब्ध भएको छ। विशेषतः कुमामोतो क्षेत्रमा रहेका नेपाली विद्यार्थी तथा आप्रवासीहरूमा घटनाले गहिरो शोक छाएको छ।
जापानी प्रहरी प्रशासनले घटनाको पृष्ठभूमि, सम्भावित कारणहरू र घट्नाका सम्पूर्ण पक्षबारे सूक्ष्म अनुसन्धान जारी राखेको जनाएको छ। थप विवरणहरू पोस्टमार्टम रिपोर्ट र अनुसन्धानको निष्कर्षपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।
दियो खबर । २१ असार २०८२, शनिबार ०९:५३