सुर्खेत/रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँमा असार १७गते राति भएको जघन्य हत्या घटनापछि कर्णाली प्रदेशसभा महिला सांसदहरू एकजुट भएर विरोध जनाएका छन्। घटनालाई राज्य संरक्षित लैङ्गिक हिंसाको उपज भन्दै उनीहरूले दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।
प्रदेशसभा सदस्यहरू कल्याणी खड्का, दक्षिणा शाही, उर्मिला विश्वकर्मा, इन्दिरा कुमारी शाही, सन्तोषी शाही, मिलन खड्का, बलिमाया बुढा, तुलसा मल्ल, लक्ष्मी सुनार र जुम्कित लामा कार्कीसहित १० जना महिला सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका छन्।
तर यस्तो गम्भीर विषयमा विज्ञप्ति बुझाउन सांसदहरू सिधै मुख्यमन्त्री यामलाल कँडेलसमक्ष पुगेका थिए। तर उनले समय नदिई विज्ञप्ति लिन अस्वीकार गरेको सांसदहरूको आरोप छ।
सांसद कल्याणी खड्काले दियो खबरसँग भनिन्,
“मुख्यमन्त्रीको यो व्यवहार केवल हामी महिला सांसदहरूको मात्र होइन, सम्पूर्ण महिलाको अपमान हो। यस्तो गम्भीर र संवेदनशील विषयमा बेवास्ता गर्नु लोकतान्त्रिक प्रणालीप्रति उपहास हो।”
सांसदहरूको संयुक्त विज्ञप्तिमा प्रदेश सरकारले पीडित परिवारलाई न्याय दिलाउन तुरुन्त पहल गर्न, दोषीलाई कडा सजाय दिन र यस्ता घटना रोक्न कानुनी तथा नीतिगत व्यवस्था गर्न माग गरिएको छ। साथै उक्त विषय प्रदेशसभा बैठकमा तत्काल उठाइनुपर्ने माग गरिएको छ।
२०८२ साल असार १७ गते राति १० वजे भएको घटनामा ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए। सांसद खड्काले भनिन्,
“यसरी श्रीमानको हातबाट श्रीमती काटिनु र मारिनु सामान्य कुरा होइन। महिलाहरूको सुरक्षाको ग्यारेन्टी दिन कर्णाली प्रदेश सरकारले कडा कानुन ल्याउनु पर्छ।”
महिला सांसदहरूको यस्तो साझा आवाजलाई मुख्यमन्त्रीले सुनुवाइ नगर्नु प्रदेशको न्यायिक चरित्रमाथि प्रश्न खडा भएको उनीहरूको तर्क छ।
दियो खबर । २१ असार २०८२, शनिबार ००:४१