सुर्खेत/ कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट विरोधकै बीच सर्वसम्मतले पारित गरिएको छ।
शुक्रबार बसेको प्रदेशसभाको छैठौं अधिवेशनको २५ औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाहले विनियोजन विधेयक र आर्थिक विधेयक पेस गर्नुभएको थियो। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत ११ करोड ५० लाख रकम विभिन्न योजनामा छुट्याएर विशेष प्रस्तावसहित बजेट पारित गरिएको हो।
सभामुख नन्दा गुरुङले ‘हुन्न’ भन्ने आवाज नआएकाले बजेट सर्वसम्मतले पारित भएको घोषणा गर्नुभयो।
बजेटमा चालू खर्चतर्फ २३.६४ प्रतिशत र पुँजीगततर्फ ६०.५५ प्रतिशत रकम विनियोजन गरिएको छ।
यद्यपि, नेकपा एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का र राप्रपाकी सांसद सन्तोषी शाहीले कडा विरोध जनाएका थिए। उनीहरूले बजेट साना दल र जनताका चाहनाभन्दा ठेकेदार र विचौलियाको पक्षमा आएको आरोप लगाए। सांसद खड्काले दियो खबर सँग भन्नुभयो, “बजेटमा जनताको भावना होइन, कमिसनको आधारमा योजना राखिएको छ।”
दियो खबर । २१ असार २०८२, शनिबार ००:१९