अपडेट

कर्णालीको बजेट बिचौलियाको पोल्टामा : खड्का

सुर्खेत / कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा दलाल र बिचौलियाको प्रभाव हावी भएको आरोप प्रदेशसभा सदस्य माननिय कल्याणी खड्काले लगाएकी छन्।

दियो खबरसँग कुरा गर्दै माननीय खड्काले भनिन्, “यो बजेट कर्णालीको विकास र जनताको आवश्यकता अनुसार होइन, बिचौलिया र कमिशनखोरहरूको चित्त बुझाउने गरी बनाइएको छ।”

उनका अनुसार बजेट निर्माणको सम्पूर्ण प्रक्रिया सत्ता गठबन्धनको भागबन्डा, सिण्डिकेट र बाहिरी शक्तिको चलखेलमा निर्भर भयो। उनले थप भनिन्, “शुरुमा विपक्षीहरूले रोष्टम रोके, किताब च्याते, विरोध गरे तर अन्त्यमा पुरानै राजनीतिक मेलमिलाप भयो, जनताको पक्षमा होइन, भागबन्डाको पक्षमा।”

प्रश्न उठाउने ठाउँमा मौन सहमति देखिनु, र आवश्यक योजनाहरूलाई बेवास्ता गरेर असारमै कमिशन उठाउने योजनामा बजेट निर्माण हुनु दुःखद भएको उनको टिप्पणी छ।

खड्काले स्पष्ट रूपमा भनिन्, “यो बजेटले समृद्ध कर्णालीको सपना होइन, केही ठेकेदार र बिचौलियाको पोल्टा भरिएको छ। अब जनता छक्याउने होइन, तथ्य बोल्ने बेला आएको छ।”

उनको यस्तो प्रतिक्रिया प्रदेश सरकारको बजेट वितरण प्रक्रियामाथि गम्भीर प्रश्न खडा गर्ने खालको देखिएको छ।

तपाईको प्रतिक्रिया