कालिकोट/रास्कोट नगरपालिकाले शैक्षिक सत्र २०८१ मा कक्षा ५ र कक्षा ८ का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गर्दै पुरस्कृत गरेको छ। “समृद्ध रास्कोट सबैको इच्छा, एकमात्र विकल्प गुणस्तरीय शिक्षा” भन्ने मूल नाराका साथ आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूलाई नगदसहित शैक्षिक सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा कक्षा ८ र ५ मा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने छात्रछात्रालाई क्रमशः ५ हजार र ४ हजार रुपैयाँ नगद, स्कुल पोशाक, झोला, कापी, डटपेन र सम्मान पत्र प्रदान गरियो।पुरस्कृत विद्यार्थीहरू कक्षा ८ प्रथम: आशिष न्यौपाने (GPA 3.76), मालिका आवि, कोलिगाउँ द्वितीय: पुष्पा बराल (GPA 3.74), पिङलादेवी आवि, तलकोट कक्षा ५ प्रथम: रिजन न्यौपाने (GPA 3.67), बडीमालिका मावि ,द्वितीय: सपना शाही (GPA 3.21), पञ्च आवि, तोली त्यस्तै, आर्थिक अवस्था कमजोर भएका ४६ जना बालबालिकालाई शैक्षिक पहुँचमा ल्याउन तथा सिकाइलाई निरन्तरता दिन विद्यालय पोशाक, झोला, कापी, डटपेन लगायतका सामग्री वितरण गरिएको छ।शिक्षा शाखा प्रमुख खेमराज शाहीले बालमैत्री र समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले भने, “विद्यार्थीको हौसला अभिवृद्धि गर्दै शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नु नगरपालिकाको दायित्व हो।”
नगरप्रमुख धर्मराज शाही (पोष्ण)ले भने, “गुणस्तरीय र समावेशी शिक्षालाई हामी पहिलो प्राथमिकतामा राख्छौं। शैक्षिक उपलब्धिलाई सम्मान गर्दै सीप विकासमा साथ दिने हाम्रो अभियान निरन्तर चल्नेछ।”
कार्यक्रममा विद्यालय परिवार, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिको उल्लेखनीय उपस्थिति थियो। निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह वम, वडाध्यक्ष दिनेश संज्याल लगायतको सक्रिय सहभागिता रहेको कार्यक्रममा नगरपालिकाले यस्ता प्रेरणादायी कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
दियो खबर । २० असार २०८२, शुक्रबार १९:५७