अपडेट

एमाले नेता बुढाको स्कुल घोटालामा अख्तियार मुद्दा

सुर्खेत / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका पूर्ववनमन्त्री नन्दसिंह बुढासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बिहीबार विशेष अदालतमा मुद्दा दायर गर्दै आयोगले १५ वर्षअगाडि (आर्थिक वर्ष २०६७/६८) डोल्पाको एक नचल्ने विद्यालयको नाममा झुटा कागजात बनाएर ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको हो।

मुद्दामा बुढासँगै तत्कालीन इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी र उपभोक्ता समितिकी कोषाध्यक्ष संगीता बुढा पनि संलग्न छन्।

आयोगका अनुसार विद्यालय अस्तित्वमै नरहे पनि भवन निर्माणको नाममा रकम निकासा गरिएको थियो। भवन पनि बनेको छैन। सो विषयमा जिल्ला शिक्षा कार्यालय र अख्तियारको अनुसन्धानबाट पुष्टि भएको हो।

पूर्वमन्त्री बुढा सो उपभोक्ता समितिका अध्यक्षसमेत थिए। उनले एमालेबाट मन्त्री बनेका थिए र पछि माओवादीलाई समर्थन गरेका थिए। पछि उनी फेरि एमालेमै फर्किएका थिए।

अख्तियारले चारै जनालाई दोषी देखाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया