अपडेट

जापानबाट फेरि चार नेपाली डिपोर्ट

टोकियो/ अमेरिका द्वारा नेपालीहरुलाई लगातार डिपोर्ट गरिँदै गरेको अवस्थामा, जापानले पनि त्यही कठोर नीति अपनाउन थालेको छ। पछिल्लो एक साता भित्र जापान सरकारले चार जना नेपाली नागरिकलाई निष्कासन (डिपोर्ट) गरेको छ।

जापानको अध्यागमन विभागका अनुसार गैरकानुनी रूपमा जापानमा बस्दै आएका कारण काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पालाई विभिन्न एयरलाइन्समार्फत नेपाल फर्काइएको हो। ती चारै जनालाई कानुनी प्रक्रिया पूरा गरी हालै काठमाडौं पठाइएको स्रोतको जानकारी छ।

यसअघि पनि जापानले सात जना नेपालीलाई डिपोर्ट गरिसकेको थियो। अध्यागमन ऐन उल्लंघन गर्नेहरूमाथि जापान सरकार कडा रूपमा प्रस्तुत हुन थालेको देखिन्छ।

पछिल्ला घटनाक्रमले जापानमा गैरकानुनी रूपमा बसोबास गरिरहेका नेपालीहरूमाथि निगरानी कडा बनाइँदै गएको संकेत गरेको छ। अमेरिका र जापान दुबैले नेपाली आप्रवासीहरूमाथि चासो बढाउँदै उनीहरूलाई फिर्ता पठाउने कार्यमा तीव्रता दिएको देखिन्छ।

यसैबीच, जापानस्थित नेपाली समुदायमा भने यो घटनाले त्रास र अन्योलता सिर्जना गराएको छ। गैरकानुनी अवस्थाको समाप्ति र कानुनी हैसियतमा बस्नुपर्ने सन्देश यस्ता डिपोर्ट कार्यवाहीमार्फत जापान सरकारले स्पष्ट रूपमा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया