अपडेट

जापानले हुलाक टिकटमा छाप्यो नेपालको सगरमाथा

तस्विरःआमिर पाण्डे
टोकियो — जापानले हालै सार्वजनिक गरेको एक विशेष हुलाक टिकटमा नेपालको सगरमाथा (Mount Everest) समावेश गरेको छ। संसारकै सर्वोच्च शिखरको रूपमा चिनिने सगरमाथालाई जापानी हुलाक प्रणालीले आफ्नो टिकटमा समेट्नु नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धका लागि एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीले यस कदमलाई दुई देशबीचको कूटनीतिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने ऐतिहासिक पहिचानका रूपमा मूल्यांकन गर्नुभयो।
“सगरमाथा अंकित हुलाक टिकटले जापानी जनसमुदायमा नेपालको प्राकृतिक गौरव र पर्यटन सम्भावनाको प्रचारमा महत्वपूर्ण भूमिका खेल्नेछ,” राजदूत सुवेदीले भन्नुभयो।

उक्त हुलाक टिकटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। जापानमा रहेका नेपाली समुदायले पनि यस उपलब्धिलाई गौरवको विषयका रूपमा लिएका छन्।

नेपाल–जापानबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहँदै आएको छ। यस्ता सांकेतिक तथा सांस्कृतिक आदान–प्रदानहरूले दुई राष्ट्रबीचको मित्रतालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

तपाईको प्रतिक्रिया