अपडेट

बजेट मन्त्रीहरूको कब्जामा,दुर्गम अस्पतालमा लगानी शून्य :सांसद ज्वाला

सुर्खेत— नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभाका सांसद प्रकाश ज्वालाले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि कडा आलोचना गरेका छन्।

सोमबार संसदमा बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले बजेट मन्त्रीमुखी बनेको र सहरी विकासका नाममा मन्त्रीहरूले एकलौटी ढंगले कब्जा जमाएको आरोप लगाए।

“यो बजेट मन्त्रीमुखी आएको छ,” सांसद ज्वालाले भने, “सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेका छन्। मन्त्रीका बाउआमा र पार्टी कार्यालय बनाउन भनेर नाम मात्रका आयोजनामा बजेट छुट्याइएको छ। यस्तो बजेटलाई कसरी समर्थन गर्ने?”

उनले दुर्गम क्षेत्रका अस्पताल, स्वास्थ्य सेवा र आवश्यक पूर्वाधार निर्माणका लागि बजेटमै ध्यान नदिएको भन्दै गम्भीर आपत्ति जनाए। “दुर्गमका अस्पतालमा लगानी शून्य छ। यो जनताको जीवनसँग खेलबाड हो,” उनले भने।

ज्वालाका अनुसार बजेटले न त नयाँ भिजन दिन सकेको छ, न त जनताको अपेक्षा अनुसार आशा र समृद्धिको मार्गचित्र। “बजेट व्यापारी र बिचौलियामुखी बनेको छ। त्यसमा पनि आयातमुखी व्यापारी मात्र खुसी हुनेगरी बजेट ल्याइएको छ, भुइँमान्छे फेरि पनि बिर्सिएको छ,” उनले थपे।

उनले बजेटलाई अर्थ-राजनीतिक दस्तावेजका रूपमा बुझ्नुपर्नेमा मन्त्रीहरूको हितमा मात्र सीमित गरिएको आरोप लगाए। “बजेटले नीति परिवर्तन गर्न सक्ने मौका गुमाएको छ,” सांसद ज्वालाले संसदमा भने।

उनले यस्तो एकपक्षीय र मन्त्रीमुखी बजेटप्रति गम्भीर आपत्ति जनाउँदै पुनर्विचार गर्न सरकारलाई आग्रह गरे।

तपाईको प्रतिक्रिया