अपडेट

सुर्खेतका होटलमा राति रंगीन धन्दा,प्रहरीको छापा २५ पक्राउ

सुर्खेत — सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित तीन वटा होटलमा रातिको समयमा अनैतिक क्रियाकलाप हुँदै आएको सूचनाको आधारमा प्रहरीले छापा मार्दा २५ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, २०८२ साल जेठ ३० गते राति करिब ११ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ स्थित बुद्धपथ क्षेत्रका हार्दिक, दंगाली र विकास होटलहरूमा अश्लील तथा अवाञ्छित गतिविधि भइरहेको जानकारी प्राप्त भएपछि प्रहरीको विशेष टोली परिचालन गरिएको थियो।

छापाको क्रममा ती होटलहरूबाट ११ जना महिला र १४ जना पुरुष गरी जम्मा २५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरू सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता विपरीतको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीका अनुसार, नियन्त्रणमा लिइएका सबै विरुद्ध म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। साथै ती होटल सञ्चालकहरूलाई समेत नियन्त्रणमा लिइएको र उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनले बताए।

प्रहरीले पछिल्लो समय होटल, लज र गेस्टहाउसहरूमा रातिको समयमा हुने यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया