अपडेट

तिलागुफामा वार्षिक योजना समिक्षा र नयाँ योजना तर्जुमा सुरु

कालिकोट — तिलागुफा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का योजनाहरूको कार्यान्वयनको समिक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नयाँ योजना तर्जुमा प्रक्रिया सुरु गरेको छ। वडास्तरमै आयोजित यस कार्यक्रममा वडा नं. १ देखि ११ सम्मका वडाध्यक्षहरूको सभाध्यक्षता, नगरप्रमुख शंकरप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता र उप–प्रमुख महेन्द्रबहादुर शाहीको विशेष आतिथ्यता रहेको छ।

कार्यक्रममा तिलागुफा नगरपालिकामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सक्रिय सहभागिता रहँदै आएको छ। हालसम्म वडा नं. १, २, ४, ५ र ९ मा योजना समिक्षा तथा तर्जुमा कार्यक्रम सम्पन्न भइसकेको उप–प्रमुख महेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार बाँकी रहेका वडा नं. ३, ६, ७, ८, १० र ११ मा पनि यही ढाँचामा कार्यक्रम सम्पन्न गरिनेछ।नगरप्रमुख शंकरप्रसाद उपाध्यायले भने, “योजना तर्जुमा प्रक्रियामा वडाबासीको प्रत्यक्ष सहभागिता र सुझावलाई प्राथमिकता दिइएको छ। यसले योजना जनमुखी, समावेशी र दीर्घकालीन विकासमुखी बनाउन सहयोग पुर्‍याउँछ।”

उप–प्रमुख महेन्द्रबहादुर शाहीले दियो खबरसँग कुरा गर्दै भने, “विगत वर्षको योजना कार्यान्वयनका अनुभवहरूलाई विश्लेषण गरेर आगामी वर्षका योजनाहरू तयार पार्ने काम भइरहेको छ। योजना तर्जुमा प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइएको छ।”नगरपालिकाले प्रत्येक वडामा स्थानीय आवश्यकता, सम्भाव्यता र प्राथमिकतालाई केन्द्रमा राखेर योजना तय गर्ने उद्देश्य राखेको जनाएको छ।

तपाईको प्रतिक्रिया