-भरत प्रसाद देवकोटा
विश्वमा बढ्दो वायु प्रदूषणका कारण आज अनेकौं समस्या देखापरिरहेका छन्। पृथ्वीमा रहेका जैविक तथा अजैविक सम्पूर्ण वस्तुहरूको सन्तुलन बिग्रँदै जाँदा मानिस, जीवजन्तु, वनस्पति आदिलाई बाँच्न र बस्न अप्ठ्यारो हुने अवस्था सिर्जना भएको छ। यही सन्देश फैलाउन हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइन्छ, जुन सन् १९७३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रारम्भ गरिएको हो।
वातावरण संरक्षण आजको सर्वाधिक महत्त्वपूर्ण विषय हो, जसमा हरेक व्यक्तिदेखि राज्यसम्मको समान उत्तरदायित्व रहन्छ। तीव्र जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण, चर्को ध्वनि, केमिकलहरूको प्रयोग, फोहोर व्यवस्थापनको कमजोर स्थिति आदि कारणले वातावरणीय स्रोतहरूको अत्यधिक दोहन भइरहेको छ। यसको परिणामस्वरूप वायु, जल, ध्वनि र माटो प्रदूषण बढ्दो क्रममा छन्।
नेपालको संविधान २०७२ को धारा ३० अन्तर्गत हरेक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको व्यवस्था गरिएको छ। वातावरण सन्तुलन कायम राख्नु र त्यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो। तर आज प्राकृतिक स्रोत र साधनहरूको अन्धाधुन्ध उपयोगले वातावरणमा असन्तुलन सिर्जना गरिरहेको छ।
नेपालमा सडकको धूलो, सवारी चाप, औद्योगिक धुवा, फोहोर फाल्ने गलत प्रवृत्ति, नदी-नालाको अवस्था, र सहरी विस्तारको असन्तुलित रूपले वातावरण प्रदूषण जटिल बन्दै गएको छ। यसले मानव स्वास्थ्य, जैविक विविधता, र सम्पूर्ण पारिस्थितिकी तन्त्रमा गम्भीर असर पुर्याइरहेको छ।
वातावरणीय प्रदूषणको न्यूनीकरणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रणालीलाई मजबुत बनाउनु, ओजोन तह नाश गर्ने र वायु प्रदूषण फैलाउने पदार्थहरूको नियन्त्रण गर्नु, विषादीको सुरक्षित व्यवस्थापन गर्नु र जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्नु आवश्यक छ।
पृथ्वी र प्रकृति सबैको साझा सम्पत्ति हुन्। त्यसैले वातावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो। प्राकृतिक स्रोतहरूको सतत् उपयोग र संरक्षण गर्दै भावी पुस्ताका लागि यसको हस्तान्तरण सुनिश्चित गर्नु आजको आवश्यकता हो। यदि यसप्रति गम्भीरता देखाइएन भने वातावरणीय संकट गहिरिँदै जान्छ, जसको मूल्य सम्पूर्ण मानव समाजले चुकाउनु पर्नेछ।
लेखक: भरत प्रसाद देवकोटा
सामाजिक अभियन्ता, शान्नीत्रिवेणी गाउँपालिका–३, लुईयांटा, कालिकोट
दियो खबर । २२ जेष्ठ २०८२, बिहीबार ०७:३५