अपडेट

स्वास्थ्यकर्मी नहुँदा सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिए, बिरामी आक्रोशमा तालाबन्दी,केहीबेरमा खुल्यो ताला

कालिकोट/खाँडाचक्र नगरपालिका–३ ताडीमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका खोकी र टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएर घर पठाइएको पाइएको छ।

कार्यालय सहयोगी कृष्ण पाण्डेले जुना पाण्डे र वीरेन्द्र आचार्यलाई खोकीको औषधि सट्टा आइरन चक्की दिएर फर्काएका हुन्। स्वास्थ्य केन्द्रका प्रमुख बिर्खबहादुर शाही तालिमका लागि जेष्ठ ९ गतेदेखि अनुपस्थित छन् भने अनमी बरकन्या खत्री (बिष्ट) पनि जेष्ठ १४ गतेदेखि कार्यालयमा छैनन्। यस कारण कार्यालय सहयोगीको भरमा स्वास्थ्य सेवा दिइरहेको छ।

स्वास्थ्य शाखा प्रमुख मानबहादुर विष्टका अनुसार करार कर्मचारी बाहिर रहँदा कार्यालय सहयोगीले थाहा नपाई बिरामीलाई आइरन चक्की दिएको बताए।

स्थानीय खगेन्द्र पाण्डेका अनुसार स्वास्थ्यकर्मीले पावर र पहुँच देखाउँदै बिरामीलाई धम्काउने र थर्काउने व्यवहार गरेको गुनासो छ। बिरामीको यस्तो अवस्था देखेर स्थानीयले आक्रोश व्यक्त गर्दै स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका थिए।

वडा अध्यक्ष दधिराम पाण्डेले यस्तो घटनाबारे आफूलाई जानकारी नभएको उल्लेख गर्दै, यो समस्या खाँडाचक्र नगरपालिका मात्र नभई देशभरि रहेको बताए। उनले एक वडा एक स्वास्थ्य केन्द्रको अवधारणा भए पनि जनशक्ति अभावका कारण समस्या आएको स्पष्ट गरे।

अध्यक्ष पाण्डेले भने, “कम्तीमा चार जना जनशक्ति भएमा कर्मचारी तालिम, विदा वा बिरामी परेपछि पनि सेवा अवरुद्ध हुँदैन।”

केही समयपछि स्थानीयले लगाएको ताला खोलिएको पनि उनले जानकारी दिए।

स्थानीयवासीले स्वास्थ्य सेवा स्थापना भएदेखि नै कर्मचारीको व्यवहार र सेवा सन्तोषजनक नभएको भन्दै सुधारको माग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया