कालिकोट — कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले शैक्षिक सुधारका लागि बृहत शैक्षिक गोष्ठि सम्पन्न गरेको छ। यस गोष्ठिमा २०८१ को वार्षिक परीक्षाको समिक्षा, विद्यालय मर्ज तथा कक्षा घटाउने, बार्षिक शैक्षिक योजना निर्माण, शिक्षकहरूको पालिका भित्र काज सरुवा, शिक्षक विद्यार्थीको नियमितता, शैक्षिक सुशासन, परीक्षा प्रणालीमा सुधार, अतिरिक्त कक्षा सञ्चालन, विद्यालयको सामाजिक लेखा परीक्षण, वेरुजु व्यवस्थापन र विद्यालय सुधार योजना निर्माण लगायतका विषयमा गहन छलफल भएको गाउँपालिकाका शिक्षा अधिकृत मदन शाहीले जानकारी दिनुभयो।
शाहीका अनुसार नेपाल सरकारबाट तलबभत्ता खाने कर्मचारीहरूले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय समेत भएको छ। कक्षा ५, ८ र १० का विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने र विद्यालय मर्ज तथा कक्षा घटाउने निर्णय पनि गरिएको उहाँले बताउनुभयो। सामुदायिक विद्यालयको गुणस्तर सुधार्न र नयाँ पहल थाल्न यो गोष्ठि महत्वपूर्ण भएको शाहीले बताए।
गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्किँदै गएको अवस्थामा विगतको समिक्षा र आगामी कार्ययोजना निर्माणका लागि यो गोष्ठि आयोजना गरिएको बताउनुभयो। “राज्यको करोडौं रुपैयाँ लगानी भइरहँदा पनि उपलब्धि भने वालुवामा पानी हालेजस्तै छ,” उहाँले भन्नुभयो। उहाँले कक्षा रित्तो, शिक्षक दरबन्दी बढी तर विद्यार्थी संख्या कम जस्ता समस्याले सामुदायिक विद्यालय कमजोर बनाएको भन्दै यसलाई सुधार्न शैक्षिक सरोकारवाला सबैको जुटान आवश्यक भएको बताए।
गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि र राजनीतिक दल लगायत सबै सरोकारवाला मिलेर मात्र शैक्षिक परिवर्तन सम्भव हुने बताउनुभयो। “सबैको हातेमालो र साझा जिम्मेवारीको भावना आवश्यक छ,” उहाँले भन्नुभयो। गोष्ठिमा सबैको सल्लाह र सुझाव संकलन गरी आगामी कार्ययोजना बनाउने बताउँदै, यो छलफल फलदायी भएको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले आगामी आर्थिक वर्षको बजेटमा शिक्षालाई पहिलो प्राथमिकता दिने र शैक्षिक गुणस्तर सुधारका लागि सबैको जिम्मेवारी बोध आवश्यक रहेको बताए। “मेरो पनि जिम्मेवारी हो, मैले केहि नगर्ने भन्ने सोच त्याग्नुपर्छ,” उहाँले जोड दिनुभयो।
प्लान नेपाल र किर्डाक नेपालको सहकार्यमा गाउँपालिकाले आयोजना गरेको यो बृहत शैक्षिक गोष्ठिमा पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, शिक्षक, विद्यार्थी र सर्वसाधारण नागरिक अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय र शिक्षकको कार्यसम्पादनको आधारमा पुरस्कार र दण्डको व्यवस्था हुनुपर्ने, साथै शिक्षकको काज सरुवा गर्दा न्यायपूर्ण प्रक्रिया अपनाउनुपर्ने सुझाव समेत दिएका छन्।
दियो खबर । १८ जेष्ठ २०८२, आईतवार २०:४४