अपडेट

संघर्ष, सफलता र सेवाको यात्राः सुमित भट्टको प्रेरणादायी कथा

     –  ई.सुमित भट्ट

मुगुको सिमान्त बस्ती सोरु गाउँपालिका वडा नम्बर ४, जिमा गाउँमा २०५२ सालको असार २० गते जन्मिएका हुन्। उहाँका बुबा डिल्ली प्रसाद भट्ट र आमा धन्कन्या भट्टका माइला सन्तान सुमितले बाल्यकालदेखि नै संघर्ष, अठोट र आत्मविश्वासको बाटो समातेका थिए। कठिन परिस्थिति र सीमित स्रोतसाधनका बाबजुद पनि, उनी आफ्नो लक्ष्यप्रति दृढ रहे र असम्भवलाई सम्भव बनाउँदै अघि बढ्न थाले।

सानै उमेरमा पढाइको लागि काठमाडौँको यात्रा गरेका सुमितले प्रारम्भिक कक्षादेखि नै असाधारण नतिजा देखाउँदै २०६७ सालको एसएलसी परीक्षामा ८७% अंकसहित distinction ल्याए। यो उपलब्धिले मात्र होइन, उहाँको आत्मविश्वासले पनि समाजमा एक नौलो प्रेरणा जगायो। +2 science तहमा समेत स्कलरसिप पाउँदै निःशुल्क अध्ययन गरेका सुमितले २०७० सालमा distinction हासिल गरेर आफ्नो प्रतिभा प्रमाणित गरे।

तर यो यात्राले यति सजिलै विश्राम लिने कुरै थिएन। २०७० सालमा पुलचोक इन्जिनियरिङ क्याम्पसमा १७ हजार प्रतिस्पर्धीबीच उत्कृष्ट प्रदर्शन गर्दै प्रवेश पाएका सुमितले २०७४ सालमा इन्जिनियरिङ अध्ययन पूरा गरे। अध्ययनसँगै शिक्षणमा पनि समर्पित भएर विभिन्न क्याम्पसहरूमा पढाउने अवसर पाए। यसले उहाँको ज्ञानलाई अझै निखार्दै गयो।

२०७५ सालदेखि एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) मा इन्जिनियरको रूपमा कार्यरत भएका सुमितले आफ्ना सीप र ज्ञानलाई समाजको हितमा प्रयोग गर्न थाले। २०७६ सालको लोकसेवा आयोगको परीक्षामा देशैभरिका प्रतिस्पर्धीहरूबीच उत्कृष्ट प्रदर्शन गर्दै सुमितले पुरै देशको पहिलो नम्बरमा (१ नम्बर) नाम निकालेर आफ्नो क्षमता प्रमाणित गरे। उहाँका दाजु राजकुमार भट्टले समेत यसै परीक्षामा तेस्रो नम्बरमा (३ नम्बर) सफल भएका थिए।

दाजुभाइ दुवैले प्राविधिक शाखामा देशको सेवा गर्ने अवसर पाए। सुमित भट्ट कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा सिफारिस भएर सेवा दिइरहेका छन् भने, उनका दाजु राजकुमार भट्ट जुम्ला जिल्लाको सिजा गाउँपालिका प्राविधिक शाखामा कार्यरत छन्। दुवैले स्थानीय जनताको जीवनस्तर उकास्ने योजनाहरूको अध्ययन र कार्यान्वयनमा समर्पित भएर कुशल नेतृत्व, दूरदर्शिता र सेवाभावको अनुपम उदाहरण प्रस्तुत गरिरहेका छन्।

सुमित भट्टको यो यात्रा केवल यहाँसम्म सीमित छैन। उहाँले आफ्नो ज्ञानलाई अझै सशक्त बनाउन २०७७ सालमा ग्रामीण विकासमा स्नातकोत्तर (Masters in Rural Development) पूरा गरेका छन्। साथै, अहिले स्ट्रक्चरल इन्जिनियरिङ (Masters in Structural Engineering) मा अध्ययनरत छन्। निरन्तरता र लगनशीलताको अद्भुत मिसाल सुमित भट्टले सानै उमेरदेखि देखाएको संघर्ष, निष्ठा र सेवाभाव आज धेरै युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ।

सुमित भट्टको जीवन यात्रा एउटा जीवन्त पाठशाला हो—जहाँ संघर्षलाई अवसरमा रूपान्तरण गर्दै, सफलता प्राप्त गर्ने र समाजलाई योगदान दिने कला सिकिन्छ। उहाँले देखाएको यो मार्ग आज पनि हजारौं युवालाई आँट, आत्मविश्वास र सकारात्मक सोचको उज्यालो देखाउँदैछ।

तपाईको प्रतिक्रिया