अपडेट

पत्थरसँग आशिर्वाद माग्दै

— दीर्घ बहादुर शाही ‘डोक्का घरे’

हातमा दियो बोकेर

तद्धिसेक अक्षता समाती

टिपेर चिउरी फुलहरू

सखारै आशिर्वाद लिन मन्दिरसम्म पुगे।

बाह्रमास हिउँदका चिसा तुष ओढेर

कठाङ्गरिदो अस्थिपञ्जर

बामे सार्दै

पत्थरसँग बिन्ती चढाउँछ।

आत्माको कुनामा बसेका बिलौना रहरहरू

इन्देणीको रङ्गिन हाँसो देख्दा

अनगिन्ती चाहनाको भारी बोकेर

पसिनासँग मितेरी गाँस्दै

सुमधुर भजन गाउँछन्।

पत्थरसँग अङ्कमाल गरेर

छेउमा उभिएको साक्षीलाई हेर्दै

दिनभर प्रार्थना गरे।

बिलौना रहरहरू

पत्थरको न्यायाधीशसँग

आत्मा सन्तुष्टिका निम्ति

आशिर्वादको इजलासमा

न्यायको बयान दिएर

ईश्वरलाई पुकार्दै

सुस्केरासँगको सहयात्रामा

जीवनको ज्योति फिजाउने

पशुपतिसम्म पुगे।

शान्तिको सबक दिने

लुम्बिनी पनि नपुगेका होइनन्।

सम्बन्धहरू प्रगाढ गर्न

समर्पणको सुपारी बाँड्ने

जानकीको मण्डपमा

स्वाभिमानको धरहरा भएर

आशिर्वादको रित्तो झोला बोकी

पत्थरको न्यायाधीश सामु

बिलौना रहरहरूको आशिर्वाद माग्न

बारम्बार बयान सुनाउँदै रहे।

तपाईको प्रतिक्रिया