अपडेट

डा. विश्व पौडेलले राष्ट्र बैंक गभर्नरको पदभार सम्हाले

सुर्खेत/नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ लिएपछि उनी बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

पदभार ग्रहण गर्दै गभर्नर पौडेलले सरकारले ल्याउने आगामी बजेटको कार्यान्वयन सुनिश्चित गर्न सोहीअनुरूप मौद्रिक नीति तयार गरिने बताएका छन्। मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने स्पष्ट पार्दै उनले राष्ट्र बैंकको नेतृत्वदायी भूमिकालाई प्रभावकारी बनाउने अठोट व्यक्त गरे।

यस अवसरमा उनले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामालाई आन्तरिक विषय भन्दै छोटो प्रतिक्रिया दिए। साथै, गभर्नर पौडेलले पाँच सय र एक हजार दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षरसमेत गरेका छन्।

सरकारले मङ्गलवार डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो।

तपाईको प्रतिक्रिया