– दिर्घ बहादुर शाही ‘डोक्का घरे’
मधुरो रातमा
रंगिन इन्देणीको गरुङ्गो झोला बोकेर
पसिनाको बेहिसाब कुलो बगाउँदै
गन्तव्यको अग्लो सिँढी उक्लिन
संघर्षको भारी बनी रहे।
हिम नदी जस्तै आँखाबाट
आँसुका ठूला छहरा पोखिँदा
विविधताको मरुभूमिमा
आत्माको समेत सिँचाइ भएन।
जिन्दगीले
समुद्र सयर गर्दागर्दै
मानसरोवरको गन्तव्य पुग्न
कयौं बैसागीको सहारामा
जवानी भने अचेल बैसागी बनेको छ।
सपनाको
अग्लो मानसरोवरबाट
यदि फर्केर आएन भने
एक मुठी यादसँगै
आँसुले लेखेको प्रेमको
घोषणा पत्र पठाउला।
अनि
रसाएका आँखाहरूले तिमीलाई हेर्दै
हरेक साँझ भित्तामा राखिएको
अँध्यारो तस्वीरसँग
भलासुकाली गरेर रात बिउँझाउने छु।
मात्र सम्झनामा
सम्झनामा…!!!
दियो खबर । २९ बैशाख २०८२, सोमबार १२:४७