एजेन्सी/भारत–पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुने गरी युद्धविरामको घोषणा गरेका हुन्।
पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डार र भारतका विदेश सचिव विक्रम मिस्रीले युद्धविरामको सहमति सार्वजनिक गरेका छन्। भारतका परराष्ट्र सचिव मिस्रीका अनुसार पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले भारतीय समकक्षीसँग आज दिउँसो फोनवार्ता गरेका थिए।
मिस्रीले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, “आज साँझ ५ बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ।”
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिइएको छ। साथै, मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ।
पाकिस्तानका उपप्रधानमन्त्री डारले जियो टिभीसँग भने, “यो सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता हो।” उनका अनुसार, सहमतिसँगै भारत–पाकिस्तानबीचको सैन्य संवाद र हटलाइन प्रणाली पनि पुनः सक्रिय गरिएको छ।
दियो खबर । २७ बैशाख २०८२, शनिबार १८:४८