
काठमाडौँ — नयाँ बानेश्वर क्षेत्रमा आइतबार शिक्षकहरूको आन्दोलन दौरान प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ।नेपाल शिक्षक महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आएको छ। आन्दोलनको २५औँ दिनमा शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको हो।
शिक्षकहरूले निषेधित क्षेत्र पार गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। त्यसपछि शिक्षकहरूले ढुंगामुढा गरेपछि स्थिति झन जटिल बनेको थियो। आन्दोलन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको थियो।
शनिबार पनि शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। शान्तिपूर्ण रुपमा सुरु भएको आन्दोलन पछिल्ला दिनमा झडप र तनावमा रुपान्तरित हुन थालेको देखिन्छ। आन्दोलनरत शिक्षकहरूले आफ्ना माग पुरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।

दियो खबर । १४ बैशाख २०८२, आईतवार १३:२५