कालिकोट — खाँडाचक्र नगरपालिकामा करार सेवामा कार्यरत कर्मचारीहरूले तलब नपाएको भन्दै आज दिउँसो कार्यालयमा ताला लगाए। करिब दुई घण्टा पछि नगरपालिका र कर्मचारीबीच पाँच दिनभित्र तलब उपलब्ध गराउने सहमतिपछि ताला खोलिएको हो।
विगत केही महिनादेखि तलब नपाएको गुनासो गर्दै आएका कर्मचारीहरूले बाध्य भएर ताला लगाएको जनाएका छन्। एक कर्मचारीले भने, “महिनौँदेखि काम गरिरहेका छौं, तर पारिश्रमिक नपाउँदा दैनिक जीवन चलाउन मुस्किल परेको छ।”
यता, ताला लगाइएको भए पनि कार्यालयको आन्तरिक कामकाज भने निरन्तर चलिरहेको वडा नं ७ का वडाध्यक्ष दिपराज कार्कीले जानकारी दिए। “ताला बाहिर थियो, तर कर्मचारीहरू भित्र बसेर काम गरिरहेका थिए,” उनले भने।
ताला लगिएपछि प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख कमल बहादुर शाही र कर्मचारी प्रतिनिधिबीच भएको छलफलमा आर्थिक प्रक्रियागत ढिलाइ स्वीकार्दै करार कर्मचारीसहित उपभोक्ताको भुक्तानी पनि पाँच दिनभित्र उपलब्ध गराउने लिखित सहमति गरिएको छ।
नगरप्रमुख शाहीले भने, “कर्मचारीहरूको जायज मागप्रति नगरपालिका गम्भीर छ। आवश्यक आर्थिक व्यवस्थापन गरेर तलब र भुक्तानी उपलब्ध गराउनेछौं।”
ताला खोलिएसँगै कार्यालय पुनःसञ्चालनमा आएको छ भने कर्मचारीहरू पनि नियमित काममा फर्किएका छन्। असार मसान्त आउन अझै करिब दुई महिना बाँकी रहेका बेला तलब तथा उपभोक्ता भुक्तानी समयमै हुनेछ भन्ने विश्वास व्यक्त गरिएको छ।

दियो खबर । १० बैशाख २०८२, बुधबार २२:०२