कालिकोट — जिल्लाको सदरमुकाम मान्ममा “मानव अधिकार तथा सामाजिक न्याय अभियान” भन्ने मूल नारासहित यूवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मानवअधिकार रक्षकहरूको अधिकार, सुरक्षा र भूमिकाका सवालमा केन्द्रित थियो।
कार्यक्रममा रोयल नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोस बिकले संस्थाको परिचय दिँदै कर्णालीका १० वटै जिल्लामा यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेकामा जानकारी दिनुभयो। उहाँले मानवअधिकारको सवालमा राज्य, स्थानीय सरकार, नागरिक समाज र सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
यूवा मानव अधिकार रक्षक सञ्जाल कालिकोटकी अध्यक्ष निस्ता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तुलराज विष्ट, खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाही, शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाही, उद्योग वाणिज्य संघ कालिकोट अध्यक्ष रतनबहादुर शाही, नेपाल बार एशोसिएसन कालिकोट अध्यक्ष अम्मलराज शाही, खाँडाचक्र–१ का वडाध्यक्ष धर्मराज ताम्राकार, सान्नी त्रिवेणी–३ का वडाध्यक्ष रंगलाल देवकोटा लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन यूवा मानव अधिकार रक्षक सञ्जाल कालिकोटका सचिव रविन्द्र विश्वकर्माले गर्नुभएको थियो। सहभागीहरूले मानवअधिकार रक्षामा अझ सशक्त र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको पत्रकार प्रभुराम पाण्डेले वताए।

दियो खबर । १० बैशाख २०८२, बुधबार १९:५४