कालिकोट / नेकपा (एकीकृत समाजवादी) कालिकोटले पार्टीको ७६औं स्थापना दिवसको अवसरमा सदरमुकाम मान्मस्थित ‘न्यानो काख सेवा समाज’मा आश्रित १३ जना असहाय बालबालिकालाई झोला र स्टेशनरी सामग्री प्रदान गरेको छ।
मंगलबार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज तुलाराज सिम्खाडा, संविधानसभा सदस्य तुलाराज विष्ट, जिल्ला सह–इन्चार्ज विजया विष्ट, जिल्ला अध्यक्ष चित्रसिंह गाउँले, उपाध्यक्ष चन्द्रबहादुर शाही, सचिव कृष्णकला पाण्डे, प्रदेश कमिटी सदस्य पूर्णबहादुर शाही, उपसचिवद्वय मनसिं धामी र रत्न मल्ल, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष अनन्त वराल, जिल्ला अध्यक्ष जीवनकुमार शाही, कमिटी सदस्य रविन्द्र महतारा, प्रेस संगठनका जिल्ला उपाध्यक्ष प्रभुराम पाण्डे लगायतको उपस्थिति थियो।
सहयोग कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज सिम्खाडाले पार्टीले राजनीतिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व पनि बहन गर्दै आएको बताए। “पार्टी जनताप्रति उत्तरदायी रहनुपर्छ भन्ने मान्यताका साथ असहाय बालबालिकाको शिक्षामा सहयोग पुर्याउने प्रयास गरेका हौं,” उनले भने।
संविधानसभा सदस्य तुलाराज विष्टले बालबालिकाको अनुहारमा देखिएको मुस्कान नै पार्टीको साँचो प्रेरणा भएको बताए। “यी बालबालिकाले पाउने शिक्षा र संरक्षणको एउटा सानो आधार बन्न पाउनु नै हाम्रो साझा सफलता हो,” उनले उल्लेख गरे।
जिल्ला सह–इन्चार्ज विजया विष्टले सामाजिक सेवामार्फत पार्टीको विचार जनस्तरसम्म पुर्याउने अभियान अघि बढाइएको बताइन्। “सामाजिक सेवाका माध्यमबाट समावेशी समाज निर्माणतर्फ सघाउने हाम्रो प्रयास निरन्तर रहनेछ,” उनले भनिन्।
जिल्ला अध्यक्ष चित्रसिंह गाउँलेले बालबालिकाको शिक्षामा लगानी दीर्घकालीन परिवर्तनको आधार हुने धारणा राखे। “पार्टी बालबालिकाको भविष्यप्रति सधैं संवेदनशील छ, शिक्षा उनीहरूको सबल भविष्यको मूल आधार हो,” गाउँलेले स्पष्ट पारे।
न्यानो काख सेवा समाजकी सल्लाहकार मैयाँ मल्लले पार्टीबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै संस्थाले बालबालिकालाई आवासीय सुविधा सहित सदरमुकामको एक बोर्डिङ स्कुलमा अध्ययन गराउँदै आएको जानकारी दिइन्।
कार्यक्रममा निवर्तमान पार्टी उपाध्यक्ष तथा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीले पनि बालबालिकाको हक, हित र शिक्षामा गरिने यस्ता सहयोगले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। “समाजका असल नागरिक बनाउने कार्य शिक्षा हो, र यस्तो पहलले समावेशी भविष्यको निर्माणमा टेवा पुर्याउँछ,” शाहीले भने।
यसैगरी, पार्टी जिल्ला कार्यालय मान्ममा सम्पन्न जिल्ला कमिटीको पहिलो बैठकले आगामी अधिवेशन तयारीका सन्दर्भमा महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टी सचिव कृष्णकला पाण्डेले बैठकले अधिवेशन सफल बनाउन सबैको साथ र समर्थन रहने विश्वास व्यक्त गर्दै सबैलाई धन्यवाद दिने निर्णय गरिएको जानकारी दिइन्।

दियो खबर । ९ बैशाख २०८२, मंगलवार १९:५३