अपडेट

प्रधानमन्त्रीसँगको असहमति चुलिँदा शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

सुर्खेत— शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिएकी छन्। शिक्षक आन्दोलन चुलिँदै गएको बेला मन्त्री भट्टराईले पदबाट राजीनामा दिएकी हुन्।

उनको निजी सचिवालयका अनुसार भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्। पछिल्लो समय विद्यालय शिक्षा विधेयक र शिक्षामा देखिएको विवादका विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबीच असहमति रहँदै आएको थियो।

पार्टी बैठकहरूमा पनि शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्रीले विद्यालय शिक्षा विधेयकबारे ‘जथाभाबी’ बोल्ने गरेको भन्दै असन्तुष्टि जनाउँदै आएकी थिइन्। प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई शिक्षामा लगानी गर्न खुला आह्वान गर्दै सरकारले लगानी सुरक्षित गर्ने बताएका थिए। तर भट्टराईले संविधानमा व्यवस्था गरिएको निःशुल्क शिक्षाको सिद्धान्त विपरीत प्रधानमन्त्रीको धारणा रहेको भन्दै आपत्ति जनाएकी थिइन्।

शिक्षक आन्दोलनका क्रममा मन्त्री भट्टराईले आन्दोलनरत शिक्षकहरूसँग भेटघाटसमेत गरेकी थिइन्। उनले शिक्षा विधेयक हाल संसदीय समितिमा दफावार छलफलमा रहेको र यसलाई चाँडो निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको बताउँदै आएकी थिइन्।

उनको नेतृत्वमा मन्त्रालयले शिक्षक प्रतिनिधिहरूसँग वार्ताका लागि पटक–पटक प्रयास गरे पनि आन्दोलनरत पक्ष वार्तामा आउन असहयोग गर्दै आएको थियो।

शिक्षामन्त्रीको राजीनामासँगै अहिलेको शिक्षा क्षेत्रको संवेदनशीलताबीच नयाँ नेतृत्व कसले लिने भन्नेमा चासो बढेको छ।

तपाईको प्रतिक्रिया