कालिकोट– संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै कालिकोट जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कर्मचारी संगठनहरूले संयुक्तरूपमा आन्दोलन चर्काउने चेतावनी दिएका छन्।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका प्रतिनिधिहरूको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीमार्फत संघीय संसद सचिवालय, सिंहदरबार काठमाडौँलाई संयुक्त ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा भनिएको छ, “संविधानअनुसारको संघीय शासन प्रणाली लागू भइसके पनि कर्मचारी संरचना, सेवा शर्त, स्थायीत्व र पदोन्नतिसम्बन्धी स्पष्ट कानुनी आधार नहुँदा निजामती कर्मचारी अन्योलमा परेका छन्।”
नेपाल निजामती कर्मचारी युनियन कालिकोटका अध्यक्ष अबिराज शाहीले भने, “२०७९ सालमै मन्त्रिपरिषद्बाट पारित भई संसदमा पुगेको ऐन आजसम्म पनि पारित नभएर shelved अवस्थामा छ। यस्तो बेवास्ताले कर्मचारीहरूमा व्यापक असन्तुष्टि फैलिएको छ। अब पनि सरकार र संसदले चासो नदिए देशभरि आन्दोलनका कार्यक्रम अघि बढ्छन्।”
ज्ञापनपत्रमार्फत कर्मचारी संगठनहरूले निजामती सेवा ऐन तुरुन्तै संसदबाट पारित गरी लागू गर्न, सेवा सुरक्षाका ग्यारेन्टीसहित पारदर्शी पदपूर्ति प्रक्रिया सुनिश्चित गर्न र संघीय संरचनाअनुसारको प्रशासनिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरेका छन्।
यस्ता मागहरूमाथि सरकार र संसदले चाँडै संवेदनशीलता नदेखाए राष्ट्रव्यापी कर्मचारी आन्दोलनको तयारी भइरहेको संगठनहरूको चेतावनी छ।

दियो खबर । ८ बैशाख २०८२, सोमबार १५:५६