कालीकोट /“साक्षरता घोषणा औपचारिकता होइन, नागरिकले पढ्न र लेख्न सक्ने अवस्था भएपछि मात्र यसको सार्थकता हुन्छ,” खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीको यो भनाइले कालीकोटको साक्षरताको बहसलाई नयाँ मोड दिएको छ।
नेपाल सरकारले सन् २०३० भित्र मुलुकलाई पूर्ण साक्षर बनाउने लक्ष्यसहित अघि सारेको अभियानमा कालीकोटले उल्लेखनीय प्रगति गरेको छ। जिल्लाका ९ स्थानीय तहमध्ये ८ पालिका—रास्कोट, तिलागुफा, सान्नी त्रिवेणी, पचालझरना, पलाँता, महावै र शुभकालिका—पहिले नै साक्षर पालिका घोषणा भइसकेका छन्। अब बाँकी रहेको एक मात्र खाँडाचक्र नगरपालिका साक्षर घोषणाको अन्तिम चरणमा पुगेको छ।
शनिबार सदरमुकाम मान्ममा आयोजित “साक्षर स्थानीय तह घोषणा समन्वय तथा सहजीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम”मा सामाजिक विकास कार्यालय, कालीकोटका प्रमुख रछाने लुवारले खाँडाचक्रले पनि वैशाख मसान्तभित्र साक्षर पालिका बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले सन् २०२१ मा सम्पन्न जनगणनाको तथ्यांक प्रस्तुत गर्दै कर्णाली प्रदेशको साक्षरता दर ७६.१ र कालीकोटको ७२.७ प्रतिशत रहेको जानकारी दिनुभयो।
लुवारका अनुसार साक्षर घोषणा गर्न सरकारले तोकेका १२ वटा सूचकहरूमध्ये ५० प्रतिशतभन्दा बढी पूरा गरेका स्थानीय तह योग्य मानिन्छन्। खाँडाचक्र यही मापदण्डमा अघि बढिरहेको छ।
कार्यक्रममा सहभागीहरूले जिल्लाको केन्द्र भएर पनि खाँडाचक्र साक्षर घोषणा नहुनु चिन्ताको विषय भएको भन्दै ढिलाइ अन्त्य गर्न माग गरे।
नगरप्रमुख शाहीले खाँडाचक्रमा अब घोषणा मात्र नभई व्यवहारमै साक्षरताको अनुभूति हुने गरी काम भइरहेको बताए। “हामी वैशाख मसान्तभित्र खाँडाचक्रलाई साक्षर पालिका घोषणा गर्नेछौं,” उहाँको प्रतिबद्धता थियो।
कालीकोटका ग्रामिण बस्तीमा अझै पनि औपचारिक शिक्षाको पहुँच सन्तोषजनक नभएको बेला साक्षरताका नाममा घोषणामात्र गर्ने हो कि व्यवहारिक सुधार ल्याउने भन्ने प्रश्न यस कार्यक्रमसँगै पुनः चर्किएको छ। नगरप्रमुखको भनाइले त्यो प्रश्नलाई उत्तर दिन खोजेको स्पष्ट देखिन्छ।

दियो खबर । ७ बैशाख २०८२, आईतवार ११:००