सुर्खेत — रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ स्थित मुसिडाँडामा गेट बनाउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।
मुसिडाँडास्थित मन्दिर क्षेत्रको पश्चिमतर्फ रहेको पुरानो गेट भत्काउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।
प्रहरीका अनुसार गेट भत्किँदा ५९ वर्षीय खिमबहादुर गिरीको घटनास्थलमै मृत्यु भएको हो। उनी मुसीकोट–४ थापागाउँका निवासी हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार शनिबार दिउँसो करिब १ बजे गेट भत्किँदा गिरी च्यापिएर घाइते भएका थिए। स्थानीयको सूचनापछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। तर त्यसबेलासम्म गिरीको ज्यान गइसकेको थियो।
उक्त स्थानमा मुसीकोट नगरपालिका सहयोगमा नयाँ गेट निर्माण कार्य भइरहेको थियो। मृतक खिमबहादुर गिरी गेट निर्माणको जिम्मेवारी लिएका स्थानीय बासन्त गिरीका पिता हुन्।
प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

दियो खबर । ६ बैशाख २०८२, शनिबार १६:४०