काठमाडौं/शिक्षकहरूप्रति बढ्दो अवहेलना र उनीहरूको आवाजप्रति सरकारको उदासीन व्यवहारप्रति आक्रोश व्यक्त गर्दै नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्यूरो सदस्य सुदेश पराजुलीले तीव्र टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “आफ्नै गुरुहरूको रचनात्मक र शृजनशील आन्दोलनलाई रमिता देख्नेहामी कस्ता शिष्य हौं!”
उनले आन्दोलनरत शिक्षकहरूप्रति ऐक्यबद्धता जनाउँदै भने, “गुरुहरूको आन्दोलनलाई सलाम छ।” साथै, शिक्षकहरूलाई सडकमा ल्याउन बाध्य बनाउने तत्वहरूलाई लक्षित गर्दै पराजुलीले भनेका छन्, “ए! अलिकति लाजसरम मानुन्।”
उनको भनाइमा शिक्षकहरूले कुनै असम्भव माग गरेका छैनन्। “गुरुहरूले रामराज्य मागेका छैनन्,भन्दै पराजुलीले सरकार र जिम्मेवार निकायहरूलाई शिक्षालाई राजनीति र प्रचारको माध्यम बनाउने कार्य बन्द गर्न सुझाव दिएका छन्।
हाल देशभरका शिक्षकहरू शिक्षा प्रणालीमा भइरहेको हस्तक्षेप, अस्थिरता, र उनीहरूका पेशागत अधिकारको हननविरुद्ध आन्दोलनमा छन्। उनीहरूको माग छ— शिक्षा नीतिमा स्थायित्व होस्, विद्यालयहरूमा गैर-शैक्षिक हस्तक्षेप नहोस् र शिक्षकहरूको सामाजिक मर्यादा सुरक्षित गरियोस्।
पराजुलीको भनाइले शिक्षक आन्दोलनको गम्भीरता र त्यसप्रति समाज र नेतृत्वले लिनुपर्ने जिम्मेवारीको स्मरण गराएको छ।

दियो खबर । ६ बैशाख २०८२, शनिबार १३:००