काठमाडौँ — जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र ‘मनको बाँध’ मार्फत नेपाली सिने क्षेत्रमा पाइला राखेकी छन्। विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको सिरिज ‘अफलाइन लभ’ मा अभिनय गरेर दर्शकको मन जितेकी माहोले अब नेपाली टेलिचलचित्रमा काम थालेकी हुन्।
मोडलिङ र अभिनय दुनियाँमा समान रूपमा सक्रिय माहो हालै पेरिस फेसन विक मा समेत सहभागी भइन्। ‘अफलाइन लभ’ सिरिजले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चर्चा दिलाएको छ। अब भने उनले अभिनय गरेको नेपाली टेलिचलचित्र ‘मनको बाँध’ वैशाख ६ गते शनिबार फोकस पिक्चर्स युट्युब च्यानलमार्फत बेलुकी ७ बजे सार्वजनिक हुँदैछ।
“कोठा भाडामा बस्ने एक सामान्य नेपाली परिवारको कथामा आधारित यो टेलिचलचित्रमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारलाई समावेश गर्न पाउनु गौरवको कुरा हो,” निर्देशक प्रदीप खड्गी भन्छन्।
उनका अनुसार विदेशी कलाकारको उपस्थितिले नेपाली टेलिचलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउने विश्वास गरिएको छ। खड्गीले यसअघि ऐतिहासिक फिल्म ‘कीर्तिपुर: द लिजेन्ड अफ कीर्तिलक्ष्मी’, थ्रिलर ‘अपीच्य’ र बहुभाषी फिल्म ‘हिमआँधी’ निर्देशन गरिसकेका छन्।
विदेशी कलाकारलाई नेपाली कथामा समावेश गर्ने यो प्रयासले टेलिचलचित्र क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

दियो खबर । ५ बैशाख २०८२, शुक्रबार १८:३४