सुर्खेत / काठमाडौंमा विद्यालय शिक्षा ऐनको मागसहित जारी आन्दोलनमा नेकपा एमाले कर्णाली कमिटी प्रदेश सदस्य तथा पलातागाउँपालिका पूर्व अध्यक्ष लक्ष्मणबहादुर बम (पलातिकान्छी) ले सक्रिय ऐक्यबद्धता जनाउनु भएको छ।
शुक्रबार बमको नेतृत्वमा काठमाडौं पुगेको टोलीले आन्दोलनरत शिक्षकहरूलाई १० हजार रुपैयाँ नगद र १,८०० बोतल खानेपानी (मिनरल वाटर) सहयोग गरेको हो। एक गाडी पानीसहित टोली आन्दोलनस्थलमै पुगेर सहयोग हस्तान्तरण गर्दै शिक्षकहरूसँग एकता प्रकट गरेको थियो।
सहयोगी टोलीमा शिक्षक महासंघ कर्णाली प्रदेश अध्यक्ष मानबहादुर रोकाया, युवा नेता वकिल बम, प्रेमबहादुर बुढा, शिक्षक नेता पदम बटाला, धनमानसिंह रोकाया र ललिजङ्ग बमको सहभागिता रहेको नेता बमले जानकारी दिनुभयो।
शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै बमले भन्नुभयो, “शिक्षकहरू राष्ट्र निर्माणका आधार हुन्। उनीहरूको माग समयमै सम्बोधन नभए शिक्षा प्रणाली संकटमा पर्न सक्छ। हामीले पानी र पैसामात्र होइन, आवाजको साथ पनि दिएका छौं।”
उहाँले विद्यालय शिक्षा ऐनले शिक्षकको हैसियत, भूमिका र अधिकारलाई स्पष्ट पार्नुका साथै शिक्षा प्रणाली रुपान्तरणको दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो। “हामी सधैं शिक्षकको पक्षमा छौं,” उहाँको भनाइ थियो।
२० चैतदेखि शिक्षक महासंघको अगुवाइमा शिक्षक र विद्यालय कर्मचारीहरूले शिक्षकमैत्री व्यवस्था सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन्। सरकारले सात बुँदे प्रस्ताव पेस गरे पनि महासंघ असन्तुष्ट रहेकाले आन्दोलन थप सशक्त हुँदै गएको छ।

दियो खबर । ५ बैशाख २०८२, शुक्रबार १८:०५