कालिकोट — जिल्लामा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य माननीय महेन्द्र बहादुर शाहीले एक कार्यक्रमबीच पचालझरना गाउँपालिकामा गरेका हुन्।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका आठवटा स्थानीय तहबाट करिब ८ सय खेलाडी तथा रेफ्रीहरूको सहभागिता रहेको छ। समितिका अध्यक्ष गणेश बहादुर शाहीका अनुसार शुभकालिका गाउँपालिका भने प्रतियोगितामा सहभागी छैन।
प्रतियोगिताको पहिलो दिन ८ सय मिटर दौड (छात्र तथा छात्रा), सटपुटलगायतका खेलहरू सम्पन्न भएका छन्। प्रतियोगिता अन्तर्गत भलिवल, कबड्डी, एथलेटिक्स लगायतका विधामा प्रतिस्पर्धा हुने समितिले जनाएको छ।

दियो खबर । ३ बैशाख २०८२, बुधबार २१:२१