अपडेट

राजा फर्कने समय सकियो : अध्यक्ष नेपाल

कालिकोट – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा फर्किने सपना नदेख्न कडा चेतावनी दिनु भएको छ। कालिकोटको रास्कोटमा आयोजित पार्टीको १०औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजा फर्कने चर्चा “वेमौसमी बाजा” भएको टिप्पणी गर्नुभयो।

“नेपालमा राजाको अब कुनै काम छैन, त्यो पुरानो कुरा भइसक्यो,” उहाँले भन्नुभयो, “अब देशमा जनताबाट निर्वाचित भएका प्रतिनिधिहरूको शासन चाहिन्छ। वंशजको आधारमा शासन गर्ने दिन गए।”

पूर्वप्रधानमन्त्री नेपालले चेतावनी दिँदै भन्नुभयो, “पूर्वराजाले सत्तामा फर्कन चाहनुहुन्छ भने पार्टी खोल्नुस्, जनताबीच जानुस् र चुनाव जित्नुस्। सडकमा अशान्ति मच्चाएर फर्कन पाइँदैन। चैत्र १५ मा हाम्रो पार्टी अफिस जलाइयो, पसलबाट चुरोट चोरियो, पत्रकार लाई जिवितै जलाइयो,एक जना युवाको हत्या गरियो।पत्रपत्रिका भएका घरमा तोडफोड गरियो, सर्वसाधारणका घरमा आगो लगाइयो – यस्तो तरिकाले अब राजा फर्कन सक्दैनन्।”

अध्यक्ष नेपालले सत्तामा फर्किने कुनै पनि अधिनायकवादी सोचप्रति कडा असहमति जनाउँदै लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले देश समाजवादतर्फ जानुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “नेपाल यथास्थितिमा चल्न सक्दैन। नेपाली विशेषताको समाजवाद वा वैज्ञानिक समाजवादतर्फ अघि बढ्नुको विकल्प छैन।”

सरकारप्रति पनि असन्तुष्टि जनाउँदै अध्यक्ष नेपालले सुधार आवश्यक रहेको बताए। उहाँले वामपन्थी दलहरूको सहकार्य अपरिहार्य रहेको धारणा राख्दै समाजवादी मोर्चा बनिसकेको जानकारी दिनुभयो।

रास्कोटको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै अध्यक्ष नेपालले यहाँको जनतासँग आत्मीय सम्बन्ध भएको अनुभूति व्यक्त गर्नुभयो। “रास्कोट नआएको भए नेपालको भ्रमण अधुरो रहन्थ्यो,” उहाँले भने।

अन्त्यमा अध्यक्ष नेपालले पुनः एक पटक दोहोर्याउँदै भने, “नेपालमा राजाको कुनै काम छैन, फेरी फर्कने सपना नदेख्नू।”

तपाईको प्रतिक्रिया