अपडेट

कर्णालीराजमार्ग हुँदै अध्यक्ष नेपाल जिल्ला अधिवेशन उद्घाटन गर्न रास्कोट आउँदै

कालिकोट— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल यही चैत ३० गते कर्णाली राजमार्ग हुँदै कालिकोट आउँदै छन्। उनले रास्कोट नगरपालिका–५ स्थित आरसिपी बजारमा आयोजना हुने पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

यसपटक अध्यक्ष नेपालले हवाईमार्ग प्रयोग नगरी सडकमार्गबाट कर्णाली प्रवेश गर्नेछन्। “पहिला हवाईमार्गबाट सदरमुकाम पुगेका नेपाल, यसपटक भने सडकमार्गबाट रास्कोट पुग्ने छन्। अध्यक्ष नेपालले भने कर्णाली राजमार्गको अवस्था आफैंले हेर्न चाहेको हुँ। यहाँका जनताले भोगिरहेका समस्याहरू बुझ्न र समाधानतर्फ पहल गर्न प्रत्यक्ष अवलोकन अनिवार्य ठानेँ।”

कालिकोट जिल्ला अध्यक्ष चित्रसिंह गाउंलेका अनुसार, भेला अध्यक्ष नेपालको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ। “दशौं जिल्ला भेला पार्टी सुदृढीकरण, सांगठनिक एकता र भावी राजनीतिक कार्यदिशा तय गर्न महत्वपूर्ण हुने विश्वास लिएका छौं,” गाउंलेले बताए, “अध्यक्ष नेपालसहित शीर्ष नेतृत्वको उपस्थितिले कार्यकर्तामा उत्साह र ऊर्जा थप्नेछ।”

कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री प्रकाश ज्वाला, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज चन्द्रबहादुर शाही, पोलिटब्यूरो सदस्य अमरबहादुर थापा, प्रदेश अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, सचिव धीरबहादुर विष्ट, संविधानसभा सदस्य तुलाराज विष्ट, जिल्ला इन्चार्ज तुलाराज सिम्खडा र सह–इन्चार्ज विजया विष्टलगायत नेताहरूको सहभागिता रहनेछ।

सांस्कृतिक कार्यक्रमका रूपमा देउडा, झाँक्री नाच र अन्य प्रस्तुति पनि हुनेछ। देउडा गायिका विपना सिंह, सुनसरा शाही, शंकर मल्ल र परिलाल विश्वकर्माबीच देउडा प्रतियोगिता पनि आयोजना गरिने बताइएको छ। पार्टी सचिव कृष्णकला पाण्डेले यसका बारेमा जानकारी दिइन्।

तपाईको प्रतिक्रिया