कालिकोटमा विविध कार्यक्रमसहित अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

कालिकोट/ कालिकोट जिल्लामा खांडाचक्र नगरपालिका र सामाजिक विकास कार्यालय कालिकोटको आयोजना तथा विभिन्न सरकारी, गैरसरकारी संस्था र युवा मानवअधिकार रक्षक सञ्जाल कालिकोटको सहआयोजनामा ११५औं अन्तर्राष्ट्रिय नारी दिवस विविध कार्यक्रमसहित मनाइएको छ।

खांडाचक्र नगरपालिकाको मुख्य कार्यक्रममा संघीय सांसद तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालको संविधानले महिलाको हक संस्थागत गरेको उल्लेख गर्दै २०६२/६३ को आन्दोलनपछि महिलाको सहभागिता सुनिश्चित भएको बताए।
“संविधानले महिलालाई वडादेखि लोकसेवा, सुरक्षा निकायसम्म समान अवसर प्रदान गरेको छ। यो उपलब्धिलाई व्यवहारमा लागू गर्न सबैको भूमिका आवश्यक छ,” उनले भने।
संविधानसभा सदस्य तुलाराज बिष्टले राजनीतिक तथा सार्वजनिक जीवनमा कम्तीमा ३३% महिला प्रतिनिधित्वको संवैधानिक व्यवस्था रहेको बताउँदै नेपाल सामाजिक न्यायका सवालमा अघि बढिरहेको धारणा राखे। “महिला सहभागिता सुनिश्चित गरिनु सामाजिक न्यायको ठूलो उपलब्धि हो,” उनले भने।
खांडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले भने, “महिला सशक्तिकरण नारामा मात्र सीमित हुनुहुँदैन। स्थानीय सरकार महिला उद्यमशीलता, शिक्षा, स्वास्थ्य र अधिकारका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याएर कार्यान्वयन गर्दैछ।”
त्यस्तै,रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही – “नारी अधिकारलाई व्यवहारमा लागू गर्न सामुदायिक स्तरबाट पहल गर्न आवश्यक छ।”
महावै गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह – “महिलाको आर्थिक सशक्तिकरणका लागि लघु उद्यम, कृषि तथा सीप विकास कार्यक्रम ल्याइनेछ।”
नरहरिनाथ गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाही – “गाउँपालिकाले महिला उद्यमशीलता र आत्मनिर्भरता बढाउने कार्यक्रम ल्याएको छ।”
शान्नीत्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह – “महिला शिक्षामा लगानी गर्ने हो भने समाज नै परिवर्तन हुन्छ।”
• पचालझरना गाउँपालिकाका उपाध्यक्ष अल्किना बम – “महिलामाथि हुने हिंसा अन्त्यका लागि कानूनी अधिकारबारे सचेतना फैलाउन आवश्यक छ।”
तिलागुफा नगरपालीकाका उप-प्रमुख महेन्द्र वहादुर शाही– “महिला नेतृत्वको भूमिका अझ मजबुत बनाउन स्थानीय तहहरूले थप कार्यक्रम ल्याउनुपर्छ।”
कर्णाली प्रदेशका पूर्व कृषि मन्त्री कुर्मराज शाही – “महिला सशक्तिकरण बिना समाज समृद्ध हुन सक्दैन। संविधानले दिएको अधिकारको उचित कार्यान्वयन गर्न जरुरी छ।”
११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देउडा नृत्य प्रतियोगिता, एकल गायन, नाटक प्रदर्शन, कानूनी सचेतना अभियान जस्ता विविध कार्यक्रमहरू आयोजना गरिएका थिए।
कार्यक्रम खांडाचक्र न्यायिक समिति सदस्य अबिसरा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव कृष्णकला पाण्डेले गरेकी थिइन्।

पत्रकार निस्ता कार्कीका अनुसार, कार्यक्रममा पत्रकार, सुरक्षा कर्मी, स्थानीय बासिन्दा, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। जिल्लाका प्रत्येक वडामा यो दिवस भव्य रूपमा मनाइएको उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया