खाँडाचक्रमा राष्ट्रपति रनिङ शिल्ड तथा नगरप्रमुख कप सुरु

कालिकोट – खाँडाचक्र नगरपालिकाको पाँचौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम नगरप्रमुख कप खेलकुद प्रतियोगिता श्री जनजीवन माध्यमिक विद्यालय, खाँडाचक्र नगरपालिका-०३ ताडीमा सुरु भएको छ। प्रतियोगितामा नगरपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ।

मिति २०८१ फागुन २ गते नगरप्रमुख कमल बहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरे। कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाही, नगर उपप्रमुख गणेश बहादुर शाही, पूर्व नगरप्रमुख जसी प्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई,खांडाचक्र नगरपालीकाका निमित्त प्रशासकीय अधिकृत अविराज शाही, नगर खेलकुद समितिका अध्यक्ष सूर्यबहादुर शाही (सुधार), खाँडाचक्र नगरपालिका वडा-१ देखि ११ सम्मका वडाध्यक्ष, पूर्व वडाध्यक्ष, वडा सदस्यहरू, उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाही, शिक्षा तथा स्वास्थ्य शाखा प्रमुख जसी प्रसाद चौलागाईं, विभिन्न शाखाका प्रमुखहरू, स्थानीय बासिन्दा, विद्यार्थी, शिक्षक, अभिभावक, पत्रकार, सुरक्षाकर्मी लगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।

साथै, कालिकोट जिल्लाका क्रियाशिल राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए, जसले खेलकुदको महत्वमा जोड दिएका थिए।

नगरप्रमुख कमल बहादुर शाही ले खेलाडीहरूलाई अनुशासन, लगनशीलता र मेहनतका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्दै भने, खेलकुदलेहाम्रो शारीरिक मानसिक क्षमता बढाउँछ। खाँडाचक्र नगरपालिकाले खेलाडीहरूलाई सधैं प्रोत्साहित सहयोग गर्नेछ।

नगर उपप्रमुख गणेश बहादुर शाही ले खेलकुदको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताउँदै भने, खेलकुदले युवापुस्तालाई अनुशासित बनाउने मात्र होइन, उनीहरूलाई भविष्य निर्माणको अवसर पनि प्रदान गर्छ।

पूर्व नगरप्रमुख जसी प्रसाद पाण्डे ले खेलकुदलाई अझ प्रभावकारी बनाउन पूर्वाधार र प्रशिक्षणमा लगानी गर्न आवश्यक रहेको बताए। उनले भने, खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, यो अनुशासन, आत्मविश्वास सफलताको मार्ग हो।

जिल्ला समन्वय समिति प्रमुख धनजित बहादुर शाही ले खेलकुदले समुदायलाई एकताबद्ध गर्ने उल्लेख गर्दै भने, यस्ता प्रतियोगितालेखेलाडीहरूलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्छ।

प्रतियोगितामा पुरुष तथा महिला भलिबल, हाइजम्प, लङजम्प, कबड्डी, रिले दौड, छोटो दौड, लामो दौड, सटपुट, ज्याभलिन थ्रो लगायतका खेलहरू समावेश छन्।निमित्त प्रमुख प्रशासकीय अधिकृत अविराज शाही का अनुसार, उत्कृष्ट खेलाडीहरूलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिनिधित्व गराउने लक्ष्य रहेको छ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद नाराका साथ सुरु भएको प्रतियोगिता नगरपालिकाको खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया