कालिकोट, खाँडाचक्र – खाँडाचक्र नगरपालिका-०१ स्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरिएको छ। सानीमा बैंकको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा नगरप्रमुख कमल शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत अबिराज शाही, वडा-१ का वडाध्यक्ष धर्मराज ताम्राकार तथा सानीमा बैंकका प्रमुख मक्षिन्द्र भण्डारीको उपस्थिति रहेको थियो।
नगरप्रमुख शाहीले “शिक्षामा लगानी सबैको कर्तव्य हो” भन्दै शिक्षा नै समाजको वास्तविक परिवर्तनको आधार भएको बताए। “स्रोत-साधनको अभावले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुहुँदैन। स्थानीय सरकारको लक्ष्य गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्नु हो, जसका लागि निजी क्षेत्रको साथ र सहयोगले अझ प्रभावकारी परिणाम दिन्छ” उनले भने।
प्रमुख प्रशासकीय अधिकृत अबिराज शाहीले स्थानीय तह र निजी क्षेत्रको सहकार्यले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताए। वडाध्यक्ष धर्मराज ताम्राकारले विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरू प्राथमिकतामा राखिने उल्लेख गरे। सानीमा बैंकका प्रमुख मक्षिन्द्र भण्डारीले शिक्षा क्षेत्रको प्रवर्द्धनमा बैंकले निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
दियो खबर । २९ माघ २०८१, मंगलवार ०३:४०