कालिकोट – स्थानीय सेवा सञ्चालनसम्बन्धी ऐन तथा नियमावलीमा देखिएका समस्याहरू समाधान गर्न नेपाल निजामती कर्मचारी संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
संगठनका अध्यक्ष राजेश आचार्य का अनुसार स्थानीय तहमा ऐन तथा नियमावली कार्यान्वयनका क्रममा विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्या देखिएको छ, जसको समाधानका लागि संगठनले आवश्यक पहल गर्नेछ। “कर्मचारी व्यवस्थापनदेखि सेवा प्रवाहसम्मका जटिलताहरू हटाउन संगठन प्रतिबद्ध छ,” उनले भने।
संगठनका सचिव पूर्णचन्द्र काफ्ले ले ऐन तथा नियमावलीमा स्पष्ट व्यवस्था नभएकाले कार्यान्वयनमा समस्या आइरहेको बताए। “हामी नियमावली संशोधन तथा सुधारका लागि सम्बन्धित निकायहरूसँग छलफल गर्दैछौँ,” काफ्लेले भने।
निजामती कर्मचारी संगठनले नियमावली कार्यान्वयनमा देखिएका अन्योलता, कर्मचारी व्यवस्थापन, सेवा सुविधा तथा प्रशासनिक सुधारका विषयमा सरोकारवालासँग समन्वय गरी अगाडि बढ्ने जनाएको छ। साथै, सुधारका लागि सम्बन्धित निकायसँग संवाद गर्ने र आवश्यक परे नीति परिमार्जनका लागि दबाब दिने संगठनको योजना रहेको छ।
नेपाल निजामती कर्मचारी संगठन, कर्णाली प्रदेशको पहिलो बैठकबाट यस्तो निर्णय गरिएको सचिव काफ्लेले जानकारी दिए।
दियो खबर । २८ माघ २०८१, सोमबार ०८:०२