अपडेट

खाँडाचक्रमा १५८३ किशोरीलाई HPV खोप लगाइने

कालिकोट/खाँडाचक्र नगरपालिका—पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १५८३ किशोरीलाई HPV खोप लगाउने तयारी पूरा गरिएको छ। खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूको अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाईंको अध्यक्षतामा, नगर उप–प्रमुख गणेश बहादुर शाहीको प्रमुख आतिथ्यतामा, र जिल्ला अस्पताल जनस्वास्थ्य अधिकृत कटक महतको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

नगर उप–प्रमुख गणेश बहादुर शाहीले कार्यक्रममा बोल्दै भने, “पाठेघरको मुखको क्यान्सर हाम्रो समाजको लागि गम्भीर स्वास्थ्य समस्या हो। यस खोप अभियानको माध्यमबाट हामी हाम्रो किशोरीहरूलाई सुरक्षित बनाउनको लागि एक महत्त्वपूर्ण कदम चालेका छौँ। यस अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक छ।”

माघ २७ गतेदेखि खोप अभियान संचालन गरिने खाँडाचक्र स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले जानकारी दिए। १० देखि १४ वर्ष उमेर समूहका १५८३ किशोरीलाई विद्यालयहरू मार्फत खोप लगाइनेछ।

जिल्ला अस्पताल कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार HPV खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्रभावकारी छ, र यसलाई सफल बनाउन जनचेतना आवश्यक छ। नगरपालिकाले विद्यालयहरूसँग सहकार्य गरी खोप केन्द्र र समय निर्धारण गरिसकेको छ। खोपपछि सामान्य ज्वरो, हात दुख्ने वा हल्का थकान जस्ता लक्षण देखिन सक्ने भए पनि केही दिनमै ठीक हुने स्वास्थ्यकर्मीहरूले बताएको छन्।

नगरपालिकाले स्वास्थ्यकर्मी, विद्यालय, अभिभावक तथा समुदायको सहकार्यमा यो अभियानलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ।  विद्यालयमा अध्ययनरत ६ कक्षा देखि १० कक्षा सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। खोप केन्द्रहरू विद्यालय र बाहिर गरी २० वटा केन्द्रमा निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया