कविता – जन्म र मृत्युलाई के को प्रतीक मानौ

जन्म र मृत्युलाई के को प्रतीक मानौ ?
मानिस प्रेम ठुलो भन्छन्
यहाँ त,भोको पेटको सवाल बेसी भो
मदन,मुनालाई छोडी परदेशी भो!
मानिस बदलिएनन्,समय बदलियो
जीवन यात्राको गोरेटोले यी सब कुरा सिकायो ।
प्रकृतिमा बाँचेका अनेकन किराहरू हेर्नुस् त !
पलाउदै गर्दा कत्रो संघर्ष चल्छ
पखेटासंगै एकदिन तन जल्छ
उनी पनि केहि दिनका पाहुना न हुन्
आखिर भोलि छोडेर गैहाल्ने
एकदिन माटोको प्यारो भैहाल्ने ।
केही दिनको सुन्दर यात्रामा पनि
अभाव,प्रभाव सङ्गै दवाव
सुख,खुसी,आँसु,हासो
बरु छोड्नु छ पक्कै केही नासो
न सोचे जस्तो,न चाहे जस्तो
न खोजे जस्तो,न पाए जस्तो
समय संगै कुद्नुपर्ने
परिस्थिति संगै जुध्नुपर्ने
हाय ! कत्रो संघर्ष ?
कहिलेकाही सोच्छु, यो एक्लोपन
अदृश्य मन
आखिर दुईदिनकै रैछ जीवन
र,आफुले आफैलाई प्रश्न गर्छु
यो, जन्म अनि मृत्युलाई
के को प्रतीक मानौ
आदित्य बाबु (सुन्दर)

तपाईको प्रतिक्रिया