टोकियो /जापानको राजधानी टोकियोमा हुन लागको १४ औँ नेपाल फेस्टिवल २०२४ को तयारी पुरा भएको छ। फ़ेस्टिवल स्थल नाकानोमा शुक्रवार साँझ पत्रकार सम्मेलन गरेर नेपाल फेस्टिवल २०२४ को तयारी पुरा भएको जानकारी दिएको हो ।
‘नेपाल र नेपालीको जापानमा पहिचान,१४औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ भोली र पर्सी नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल हुन लागेको छ । जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन फेस्टिवलको आयोजना गरिएको जनाइएको छ ।
जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहुसांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिवलको उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।
यस पटक नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरेको हो । नेपाल फेस्टिवल सञ्चालन हुने स्थलका लागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ सम्पन्न भईसकेको जानकारी दिँदै फेस्टिवल मूल आयोजक समितिका संयोजक निउरेले शनिवार १० बजे नाकानो स्टेशनबाट र्याली सहित नेपाल फेस्टिवल स्थलसम्म सहभागी हुन जापानवासी नेपालीलाई अपील गर्नु भयो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य पनि भइरहेको प्रवक्ता खगराज गौतमले बताए ।
एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ । १४ औँ नेपाल फेस्टिवल २०२४ का सदस्य सचिव तथा एनआरएनए जापानका महासचिव टिकाराम खरेलले जानकारी दिए ।
उनले भने, ‘नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमा हुने विश्वास लिएको बताए ।
यस पटकको नेपाल फेस्टिवलको अनुमानित खर्च १ करोड ४० लाख येन लागत लाग्ने एनआरएनए जापानले जनाएको छ ।
दियो खबर । १४ मंसिर २०८१, शुक्रबार १५:४५