हरितालिका तीज आज

काठमाडौं /नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो लागेको छ ।
तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।जसम्बन्धी पौरणिक कथामा पनि हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएको प्रसंग छ ।
हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लागेको थाहा पाएर उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई ‘हरितालिका’ व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख छ ।
अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ ।भाद्र शुक्ल द्वितीयाका दिन गए राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।

तपाईको प्रतिक्रिया